Logo

राजनीति

राजनीतिक स्थायीत्वका लागि निर्वाचन गरिँदै छ, सबै दल सरकारमा सहभागी हुनुस् : प्रधानमन्त्री 



प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायीत्वका लागि निर्वाचन हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै अहिले राजनीतिक अस्थिरता देखिएको र स्थायीत्वका लागि कात्तिक-मंसिरमा हुने प्रतिनिधि सभा र यही वर्ष हुने स्थानीय तहको निर्वाचन आवश्यक रहेको बताएका छन् । 

उनले भने, “राजनीतिक स्थायीत्वका लागि निर्वाचन आवश्यक छ । जनतामा देखिएको क्षणिक निराशालाई पनि निर्वाचनले थप उत्साहित बनाउने छ ।” 

प्रधानमन्त्री ओलीले निर्वाचन स्वच्छ र स्वतन्त्र हुने दाबी गर्दै भने, “निर्वाचनका लागि सबै दलहरु सरकारमा सहभागी बन्‍नुहोस् ।” संसद् पूरा अवधि चलोस् भन्‍ने प्रयास गर्दागर्दै पनि असफल भएको उनले बताएका छन् । राजनीतिक स्थायीत्वको मुल पक्ष संविधान तथा योजना कार्यान्वयनको सुनिश्‍चितता भएको उल्लेख गर्दै मुलुकलाई समृद्ध बनाउने यात्री जारी रहेको बताएका छन् ।   

बहुदलीय प्रणालीका सिद्धान्त, पार्टी र संसदीय दलका निर्णयलाई धज्जी उडाउँदै संसद् विघटनका लागि बाध्य पारेको उनले बताउका छन् । उनले तानाशाही कसरी बन्छ भन्‍ने विगतको इतिहासलाई बिर्सिन नमिल्‍नेसमेत उनले बताएका छन् । 

उनले भने, “बहुदलीय प्रणालीमा देखा पर्न लागेको निर्दलीय चरित्र गम्भीर विषय हो । लोकतन्त्रको लागि  सत्तामा रहनु र नरहनु प्रमुख विषय होइन । लोकतन्त्र शक्तिहरुकै दमन झेलेको नेकपा एमालेका लागि पनि महत्वपूर्ण विषय होइन । सत्ता साधन मात्र हो, साध्य होइन । साध्य राष्ट्रिय अस्मिता र राष्ट्रिय स्वाधिनताको रक्षा हो । जनविश्वास गुमेको प्रणाली जोखिममा पर्ला कि भन्‍ने हो । निर्वाचनमा जानु प्रतिगमन होइन ।” 

 

प्रकाशित मिति : जेष्ठ १४, २०७८ शुक्रबार  ४ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।