Logo

राजनीति

कांग्रेसको प्रश्न- अक्सिजन अभावमा मानिस मर्दैछन्, देशमा सरकार कहाँ छ ?



नेपाली कांग्रेसले अक्सिजन अभावमा मानिहरुले मृत्युवरण गरिहेको घटनाप्रति दुःख व्यक्त गर्दै मुलुक सरकार विहीनताको अवस्था भोगिरहेको जनाएको छ । 

नेपाली कांग्रेसका प्रवक्ता तथा प्रचार विभाग प्रमुख विश्वप्रकास शर्माले शुक्रबार एक विज्ञप्ति जारीगर्दै पोखरा घटनाले देशमा सरकार छ ? कहाँ छ ? भन्ने प्रश्न उब्जाएको बताएका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, “अक्सिजनको अभावमा एकसाथ जिवन गुमाएका ६ नागरिकको मृत शरीर अनि सुत्केरी आमाको मृत्युु पश्चात असहज स्थिति सामना गरिरहेको नवजात शिशुलाई हेरेर आजको मितिमा राज्यको कर्तव्य पहिचान र आत्मसात गर्न समेत नेपाली कांग्रेस प्रधानमन्त्री एवं नेपाल सरकारलाई अपील र आग्रह गर्दछ ।” 

प्रेस विज्ञप्ति

जेठ १४, २०७८

पोखरा घटनाले उब्जाएको प्रश्नस
देशमा सरकार छ ? कहाँ छ ?

अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिला सहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक छ । समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित ब्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाममा उपचाररत बिरामीको ठुलो संख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि त गरेको छ नै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सृजना गरेको छ ।

जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुंदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको छ । देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको हो । सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका गम्भीर घटनाहरुको जिम्मेवार पनि सरकार नै हो । नेपाली कांग्रेस मृत्युको तथ्यांक राख्ने भूमिकाबाट सरकारमा रहँदासम्म जनताको जीवन रक्षाका लागि सम्पूर्ण रुपले केन्द्रित हुन प्रधानमन्त्रीलाई अपील गर्दै लापरवाहीले भएका प्रत्येक मृत्युु महंगो पर्ने चेतावनी दिन चाहन्छ ।

अक्सिजनको अभावमा एकसाथ जिवन गुमाएका ६ नागरिकको मृत शरीर अनि सुत्केरी आमाको मृत्युु पश्चात असहज स्थिति सामना गरिरहेको नवजात शिशुलाई हेरेर आजको मितिमा राज्यको कर्तव्य पहिचान र आत्मसात गर्न समेत नेपाली कांग्रेस प्रधानमन्त्री एवं नेपाल सरकारलाई अपील र आग्रह गर्दछ ।

जय नेपाल 

विश्वप्रकाश शर्मा 
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ७ : १० बजे