Logo

राजनीति

राष्ट्रपति भण्डारीद्वारा ४३० कैदीबन्दीको कैद सजाय माफ



राष्ट्रपति विद्यादेवी भण्डारीले चार सय ३० जना कैदीबन्दीलाई भुक्तान गर्न बाँकी कैद सजाय माफ गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्‌को सिफारिसमा जेठ १५ गतेदेखि लागु हुने गरि चार सय ३० जनाको कैद सजाय माफ गरेकी हुन् ।

राष्ट्रपति कार्यकालयका सहप्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले जेठ १३ गते बसेको मन्त्रिपरिषद्को सफारिस अनुसार जेठ १५ गतेदेखि लागु हुने गरि डिल्ली लंवा लिम्बू सहित ४३० जनाको भुक्तान गर्न बाँकी कैद सजाय माफ गरेकी हुन् । 

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२, सर्वोच्च अदालतको संयुक्त इजलासबाट मिति २०७७/४/१९ मा भएको परमादेश (रिट नं. ०७६-WO-०९३९) को आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा (४) तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (४) र फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/२/१३ गतेको सिफारिसमा  मिति २०७८/२/१५ गते देखि लागू हुने गरी डिल्ली लंवा लिम्बू समेत ४३० (चार सय तीस) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा  भएको छ ।”

कैद सजाय भुक्तान हुने को-को हुन् भन्‍ने चाहीँ खुलाइएको छैन । हरेक वर्ष गणतन्त्र दिवसमा असल आचरण भएका र थोरै समय कैद भुक्तान गर्न बाँकी रहेकाहरुलाई रिहा गर्ने परम्परा रहेको छ । तर, पछिल्लो समय सत्तारुढ दलले आफ्नो पार्टीका कार्यकर्ता र नजिककाहरुलाई रिहा गर्ने क्रम बढेको पाइन्छ । 

 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ८ : ०७ बजे