Logo

राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीकै कारण मुलुकले याे दुष्परिणाम भोग्नुपर्‍याे : सभापति देउवा



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र  दिवसले लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले भनेका छन्, ‘नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२-६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो।’

उनले कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताएका छन्। ‘लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्दछ र बन्नु पर्दछ। देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपील गर्दछु,’ उनले भनेका छन्।

कोभिड-१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै देउवाले जनताको जीवनप्रति सरकार सर्वथा उदासिन र संवेदनहीन देखिएको बताए। ‘यस स्थितिमा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका लागि म सबैलाई आग्रह गर्दछु,’ उनले भनेका छन्।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ६ : ३८ बजे