Logo

टिप्पणी

गणतन्त्र दिवस : राजनीतिक अस्थिरताले खुसी हुने दिनमै कलाकार निराश 



आज गणतन्त्र दिवस । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष पूरा भएको छ । २०६२-०६३ को १९ दिने जनआन्दोलनको बलमा २३८ वर्ष लामो राजतन्त्र अन्त्य गर्दे २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शुभारम्भ भएको घोषणा गरेको थियो । देशको शासन व्यवस्था नै परिवर्तन भइ गणतन्त्रात्मक व्यवस्था सुरु भएको दिनलाई प्रत्येक वर्ष  गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

शासन व्यवस्था नै परिवर्तन भएको १२ वर्ष बितिसक्दा पनि जनअपेक्षाहरु भने पूरा हुन नसकेको गुनासो उस्तै छ । नागरिक स्तरसम्म महसुस हुने गरि परिवर्तनको अनभूति हुन सकेको छैन । यस वर्ष त कोरोना महामारी र राजनीतिक अस्थिरताका कारण व्यवस्था नै खतरामा पर्ने जोखिम उत्पन्‍न भएको छ । 

यस्तो विषम परिस्थितिमा कलाकारहरुले गणतन्त्र दिवसलाई कसरी सम्झिरहेका छन् ? 

कलाकार निर शाहले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै गणतन्त्रको मर्म अनुसारको कामहरु नभएको बताएका छन् । उनले भने, “कोरोना कहर एकातिर छ भने गणतन्त्र अर्को तिर ।  यसलाई हामीले परिस्थति अनुसार स्वीकार गरेर मनाउनुपर्छ । लामो संघर्ष र बलिदानपछि गणतन्त्र प्राप्त भएको दिनलाई हामीले एउटा उत्सवको रुपमा मनाउनुपर्छ ।” 

गणतन्त्रलाई सार्थक बनाउन राजनीतिक दलहरु जत्तिकै नागरिकको पनि भूमिका हुने उनी बताउँछन् । उनले भने, “गणतन्त्र हामीले पूर्णरुपमा उपभोग गर्ने पाएका छैनौं । तर प्राप्त गरेका उपलब्धिहरुको रक्षाका लागि राजनीतिक दलहरुजत्तिकै महत्वपूर्ण नागरिक हुने गर्छन् । गणतन्त्र जोगाउन सामान्य नागरिकको हिसाबले पनि राष्ट्रप्रति जिम्मेवार बन्‍ने हो भने हामीले पनि पूर्ण गणतन्त्रको प्रत्याभूत गर्न पाउँछौं ।

कलाकार मिथिला शर्माले यतिबेला गणतन्त्रको शुभकामना भन्दा पनि अस्पतालमा छट्पटाइरहेका कोरोना संक्रमितहरुको स्वाथ्य लाभको कामना व्यक्त गरेकी छन् । उनले भनिन्, “गणतन्त्र पनि हाम्रो लागी एउटा पर्व हो । यसलाई नर्कान सकिन्‍न । तर यतिबेला म नि:शब्द छु ।” कोरोना महामारीले आफन्तजनहरुलाई चुँडेर लगिरहेको अवस्थामा मुलुकको राजनीति अर्कैतर्फ केन्द्रित भएकोप्रति उनी निकै दु:खी छन् । उनले भनिन्, “यस्तो बेला सरकारको ध्यान अर्कैतिर केन्द्रित भएको देखिन्छ । अक्सिजन र कोरोना संक्रमिततर्फ सरकारको ध्यान जाओस्, गणतन्त्र दिवसको शुभकामना ।”

कलाकार दिपक राज गिरीले गणतन्त्रको उपभोग गरिरहेक देशविदेशमा रहेका नेपालीहरुलाई उनले यस दिवसको शुभकामना व्यक्त गरेका छन् । उनले अनलाइनपानासँग भने, “गणतन्त्रको महत्व हामीले बुझेका छैनौं, मात्र उपयोग गरेका छौं । अहिले गणतन्त्रको उपयोग गर्ने मान्छे अरुको स्वतन्त्रत्राको ध्यान दिँदैनन् । कोरोना भाइरसले अहिले विश्व नै आंतिकत बनेको छ । यस्तो परिस्थितिमा सबै जना मिलेर गणतन्त्रलाई उत्साहजनकरुपमा मनाउने माहोल छैन्, यसअर्थ अहिलेको अवस्थामा गणतन्त्र ठूला-ठूला रेष्टुरेन्टहरुमा मनाउनभन्दा एउटा अस्पतालको रिबन काटेर होस् अथवा अक्सिजन वितरण गरेर गणतन्त्र मनाउन आग्रह गर्दछु ।” 

उनले कोरोना महामारीको मुख्य चपेटामा परे गरिब, द:खी, दलित, बेसाहराहरुको जीवनमा यस व्यवस्थाले परिवर्तन गर्नुपर्ने हो, त्यो गर्न नसकेकोप्रति उनी चिन्तित छन् । उनले भने, “हामीले जसको अधिकारका लागि भनेर लड्यौं र गणतन्त्र स्थापना गर्‍यौं, उनीहरुका लागि वास्तविक गणतन्त्र आउन सकेको छैन । नेताले मात्र गणतन्त्रलाई सिध्याउन लागेको होइन, नेताजतिकै हामी जनता पनि भागेदार छौं ।”  गणतन्त्र ल्याएको समयमा सबै खुशी स्मरण गर्दै उनले थपे, “विडम्बना ! कलाकार, पत्रकार सबै क्षेत्रका मानिसहरु कुनै न कुनै राजनीतिक दलमा आवद्ध छन् । सबैको स्वार्थ छ ।  गणतन्त्र ल्याउन धेरै संघर्ष गरेका थिए । तर, यसलाई जोगाउन हामी चुकेका छौं ।” 

हास्य कलाकार जितु नेपालले गणतन्त्रको सबैलाई शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र आएको दिन खुसीको दिन भएको उल्लेख गर्दै उनले भने, “गणतन्त्रले जनतालाई स्वतन्त्रता दियो, संविधान बन्यो तर भनेको जस्तो हुन सकेको छैन । अहिलेको अवस्था हेर्ने हो भने गणतन्त्र पनि खतरामा छ । सविधान, संघीयता खतरामा छ । यसलाई जोगाइयोस् । 

सबैजनाले देशको नियम कानुनमा बस्‍ने हो भने यहाँ केही पनि नराम्रो नहुने उल्लेख गर्दै उनले थपे, “एकले अर्कोलाई आरोप-प्रतिआरोप लगाएर राजनीतिलाई अस्थिर बनाउनुभन्दा एकतृत भएर कोरोना महामारीबाट देश र नेपाली जनतालाई कसरी बचाउने भन्‍नेमा ध्यान लगाउन सरकारसँग आग्रह गर्दछु ।” 

कलाकार दयाहाङ राईले पनि गणतन्त्रको शुभकामना व्यक्त गर्दै कोरोनाको महामारी र राजनीतिको महामारीबाट मुलुकलाई मुक्त गराउनुपर्ने चुनौती थपिएको बताउ । उनले भने, “मुलुकले कोरोना र राजनीतिक महामारी सामना गरिरहेको छ । गणतन्त्र हामी सबैले खुशी प्राप्त गरेको दिन हो । तर, आजको दिन नेपालीहरु खुसी छैनन् । स्थिर राजनीतिक प्रणाली भए अहिले कोरोनाले जुन क्षति पुर्‍याएको छ यसलाई कम गर्न सकिन्थ्यो ।” अहिलेको अवस्थामा घर घरमै बसेर गणतन्त्रको खुशीयाली बाड्न र सुरक्षित रहन उनले आग्रह गरेका छन् । 

हास्य कलाकार सुरेन्द्र केसीले आम नेपाली जनतालाई गणतन्त्र दिवसको शुभकामना दिँदै उनले भने, “नेपाली जनताले धेरै दु:ख गरेर ल्याएको गणतन्त्र अहिले ‘गाँडतन्त्र’ बनेको छ । गणतन्त्र ल्याएको दिन सारा नेपालीले खुशीयाली मनाएका थिए । यसको उपभोग गर्न हामीले पनि जिम्मेवारीपूर्वक आफनो कर्तब्य निर्वाह गनुपर्दछ । कोरोना भाइरसले अहिले थिचिरहेको छ । यस्तो बेला सरकारको ध्यान जनताप्रति नजाँदा दुःख पनि लागेको छ ।” 

अहिले देश र जनतालाई बचाउन सरकार लाग्‍नुपर्ने बेला कुर्सी र पद जोगाउन हानथाप भइरहेकोप्रति उनले निराशा व्यक्त गरेका छन् । उनले भने, “जनताप्रति र जनताको स्वास्थ्यप्रतिको बेवास्ता गरेको होकी के हो ? सरकारसँग अब त गुनासो पनि के गर्ने ? देखेर नदेखेजस्तै र सुनेर पनि नसुनेजस्तै कानमा तेल हालेर बस्‍ने सरकारसँग आशा पनि के राख्नु ? अस्पतालमा कोरोनाले छट्पटाइरहेको शरीर र चित्कार नसुन्‍ने सरकारसँग अब आशा पनि छैन ।” उनले भावुक हुँदै भने गणतन्त्रको शुभकामना भन्दा पनि कोरोनासँग जुँधिरहेका आम मानिसहरुलाई स्वास्थ्य लाभको कामना गरेका छन् ।

कलाकार जयकिशन बस्‍नेतले भने गणतन्त्र दिवसलाई कालो दिवसको रुपमा मनाउने बताएका छन् । उनले भने, “गणतन्त्र आएर हामीलाई भन्दा नेता कार्यकर्तालाई सजिलो भएको छ । हामी जनता जहिले शोषित नै हो । यहाँ गणतन्त्रको कदर गरिएको छैन कि जसरी हुन्छ कमाउने र आफना आवश्यकता परिपूर्ती गर्नेमा मात्र ध्यान छ ।” 

कोरोना महामारीले मुलुकमा पुर्‍याएको क्षतिप्रति सत्तामा बस्‍नेहरु दोषी भएको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले थपे, “यस्तो कोरोनाको कहरका कयौं मानिसहरुले सास फेर्न नपाएर मरेका छन् ।अक्सिजनको लागि रातदिन दौडधुप गरेका छन् । तर, आँखै अगाडि राम्रै हाँसीबोली गर्ने आफन्त गुमाउनु परेको छ । यस्तो समयमा राजनीतिज्ञहरु कुर्सीको खेलमा व्यस्त छन् ।”

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार ०९:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।