Logo

राजनीति

गिरिजा, माधव र प्रचण्ड गणतन्त्रका महानायक हुन्, एमालेका ३ नेता गणतन्त्रको विपक्षमा थिए : वामदेव



नेकपा एमालेका उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेको केन्द्रीय कमिटीमा तीन जना गणतन्त्रको विपक्षमा रहेको बताएका छन् । उनले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको लिखित प्रस्ताव राख्‍ने व्यक्ति आफू भएको दाबी गर्दै उनले पार्टीमा तीनजना नेताहरु विपक्षमा उभिएको बताएका छन् ।

१४ औं गणतन्त्र दिवसका अवसरमा नेता गौतमले शुभकामना व्यक्त गर्दै एमालेभित्रका गणतन्त्र विरोधी नेताहरुको स्मरण गरेका हुन् । तथापि उनले ती नेताहरुको नाम भने लिएका छैनन् ।  

सामाजिक सञ्‍जालमा उनले भनेका छन्, “विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो । त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।”

गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र प्रचण्डले भूमिका खेलेको भन्दै नेता गौतमले तीनै नेतालाई  महानायकका रुपमा सम्झेका छन् ।

“२०६५ जेठ १५ गतेको अवस्थामा नेपाल ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो,” गौतम भन्छन्, “उहाँहरुमध्ये  गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न । अरु, दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ ।”

एमाले नेता गौतमले आज १४ औं गणतन्त्र दिवसको अवसरमा सबै शहीदहरुलाई श्रद्धाञ्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका छन् ।

गौतमले सामाजिक सञ्‍जालमा लेखेका छन् :

गणतन्त्र दिवस जिन्दावाद !

आज १४औं गणतन्त्र दिवस हो। यस अवसरमा सवै शहीद र अग्रज नेताहरुलाई श्रद्धान्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाड़ी बढ्न आह्वान गर्दछु। 
नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ। तर वि. स.२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामी वीच हुनुहुन्न अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।
विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो वैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएं। 
वामदेव गौतम 
उपाध्यक्ष नेकपा (एमाले)
संयोजक
पार्टी एकता राष्ट्रीय अभियान 
१५जेठ२०७८ गणतन्त्र दिवस ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ११ : ११ बजे