काठमाडौं । विपक्षी गठबन्धन दलका शीर्ष पाँच नेताबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा छलफल गरिरहेका छन् ।
कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल रहेका छन् ।
छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, पुष्पा भुसाल, राधेश्याम अधिकारीलगायत छन् ।
यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, कृष्णबहादुर महरा तथा एमालेको खनाल नेपाल पक्षबाट नेता माधव नेपाल र भीम रावल छलफलमा सहभागी छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि छलफलमा सामेल छिन् ।
संसद विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइका सन्दर्भमा थप रणनीति बनाउन विपक्षी दलका नेता छलफलमा जुटेको बुझिएको छ । विपक्षी गठबन्धनले राजनीतिक रुपमा केन्द्रदेखि जिल्ला तहसम्म सरकारविरुद्ध विपक्षीले मोर्चाबन्दी कसेका छन् ।
न्यायिक रुपमा पनि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा दाबीका लागि कांग्रेस, माओवादी, माधव नेपाल पक्ष, जसपा उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाका १४९ सांसदले हस्ताक्षर गरेका थिए । तर, प्रधानमन्त्री ओलीले पनि दाबी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी दुबै दाबीलाई खारेज गर्दै संसद् विघटन गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले संसद् विघटन गरेपछि पाँच दलका १४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । यससँगै सर्वोच्चमा संसद् विघटनका विषयमा ३० वटा मुद्दा दर्ता भएका छन् । जसमा चार वटा प्रधानमन्त्री ओलीको पक्षमा दर्ता भएका छन् । उक्त रिटको सुनुवाइ सर्वोच्च अदालतमा चलिरहेको छ।
फाइल तस्बिर ।
प्रतिक्रिया