बालुवाटारमा जसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूसँग प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबार दिउँसो छलफल भयो । उनीहरू बीचको छलफल मधेश केन्द्रित मुद्दामा भएको होइन ।
राष्ट्रिय सहमतिको सरकार कसरी बनाउने र जसपाले कुन मन्त्रालय कसरी पाउने भन्ने विषयमा केन्द्रित थियो । जसपाले आठ मन्त्री र दुई राज्यमन्त्रीसहित १० मन्त्रालय माग गरिरहेको छ । तर, प्रधानमन्त्री ओलीले पाँच मन्त्री र दुई राज्य मन्त्रीसहित सात मन्त्रालय दिने बताउँदै आएका छन् ।
उनीहरूबीचको सहमतिको बिन्दु धेरै टाढा छैन । मंगलबार एमालेले बालुवाटारमा ११ बजे स्थायी कमिटी बैठक डाकेको छ । सोही बैठकबाट सहमतिको सरकार कसरी बनाउने र जसपालाई कति मन्त्रालय दिने भन्ने विषयमा सहमति जुट्ने स्रोतले दाबी गरेको छ ।
जसपाले सरकारमा सहभागी हुनका लागि आन्तरिक तयारी गरिरहेको छ । पार्टीभित्र सर्वसम्मत निर्णय बनाउने वा कार्यकारिणी समितिमा पनि बहुमत जुटाएर निर्णय गर्ने भन्ने विषयमा छलफल गर्न ठाकुर पक्षले समय मागेको स्रोतको दाबी छ ।
बालुवाटारमा सोमबार भएको छलफलमा एमालेबाट प्रधानमन्त्री तथा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङ सहभागी थिए भने जसपाबाट अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णको सहभागीता रहेको थियो ।
सुरुमा सरकारमा सहभागी नभइ आफूहरू आफ्नामा मागमा केन्द्रित रहेको बताउँदै आएको जसपाले सरकारमा जाने तयारी गरेसँगै उसलाई सत्ताको बार्गेनिङ गरिरहेको आरोप लाग्न थालेको छ । तर, जसामा भित्रकै उपेन्द्र यादव र डा. बावुराम भट्टराई पक्ष भने असन्तुष्ट छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमार्फत नै सरकारमा जाने भए पार्टी अलग गरेर जान सकिने संकेत गरेका छन् । उनले भनेका छन्, “नयाँ निर्माण निम्ति पुरानो भत्कनै पर्छ । अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं, भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊॅ। हातमिलाएर आआफ्नो बाटो लागौं। हिडिरहे फेरि भेट हुनेछ ।”






















प्रतिक्रिया