संसद् विघटन सम्बन्धील रिटहरूको सुनुवाइका लागि गठन गरिएको इजलासबाट दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराई फरक मत राख्दै बाहिरिएका छन् ।
इजलासबाट न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले छाड्न अस्वीकार गरेपछि उनीहरू बाहिरिएका हुन् । फागुन २३ निवेदकको माग बाहिर गएर आदेश दिएको र उक्त आदेशमा पुनरावलोकनको निस्सा नदिएको भन्दै न्यायाधीश श्रेष्ठ र केसीको उपस्थिति प्रति १४६ जना सांसदका वकिलले प्रश्न उठाएका थिए ।
केसी र श्रेष्ठ बसेको इजलासबाट निष्पक्षता र पवित्रता कायम नरहने बताउँदै कार्की र भट्टराई निस्किएका हुन् ।
उनीहरूले लिखित आदेशमा भनेका छन्, ‘इजलासको यहि संरचनाबाट अघि बढ्दा न्यायिक निष्पक्षता र पवित्रतामा आशंका हुने स्थिति पर्दैन वा निवेदक पक्षले व्यक्त गरेको आशंकालाई निवारण गर्न सकिन्छ भन्नेमा ढुक्क हुन सकेको अवस्था नदेखिएको, प्रस्तुत विवादहरु प्रारम्भिक सुनुवाईकै क्रममा रहेको र विवादको विषयवस्तुमा प्रवेश गरी कसैले आदेश गरिसकेको अवस्था समेत नभएकोले हालको अवस्थामा हामीले आफुलाई ईजलासबाट अलग भएको जानकारी गराउनु उपयुक्त देखेका छौं।’
उनीहरूले फेरि विवेक सम्मत रुपमा इजलास गठन भएमा त्यसमा बस्ने अस्वीकार नगर्ने जनाएका छन् । कार्की र भट्टराईले छाडेपछि अब प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको वरिष्ठताका आधारमा इजलास पुनःगठन हुने छ ।
वरिष्ठताको रोलक्रममा प्रधानन्यायधीश राणा र न्यायाधीहरू दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् । केसी र श्रेष्ठ भने बरिष्ठताका आधारमा रोलक्रममा पर्ने छैनन् ।
प्रतिक्रिया