प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुनमा नै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसिसकेका छन् । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले तत्कालीन नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि फागुन २८ गते नै नेता नेपाल समूहका पार्टी पदाधिकारीहरुको जिम्मेवारी खोस्दै अध्यक्ष र महासचिव बाहेक अरु सबै सदस्य मात्र रहने गरि महाधिवेशन आयोजक समिति बनाए । ओलीको यो निर्णयले वरिष्ठ नेता नेपाल र झलनाथ खनाल पक्षलाई कारबाही गरेको रुपमा सबैले बुझे र सार पनि त्यही थियो ।
ओली यतिमा मात्र अडिएनन् । नेपाल पक्षका २७ जना सांसदहरुलाई स्पष्टीकरण सोधे । नेपालले पार्टी फुटाउछन् भन्ने धेरैले अनुमान लगाएका थिए । तर नेता नेपाल पक्षले पार्टी फुटाउनलाई संख्यात्मक रुपमा वैधानिकता पाउन सक्ने अवस्था रहेन । नेपाललाई दोश्रो तहका नेता योगेश कुमार भट्टराई तथा गोकर्ण विष्ट लगायतको दबाब पनि थियो ।
एकले अर्काप्रति आक्रामक हुने ओली र नेपाल पक्षको विवादले उग्ररुप लिएका बेला ओलीले संसदबाट विश्वासको मत लिन चाहे । नेपाल पक्षका सांसदहरु तटस्त बसेपछि उनले विश्वासको मत लिन सकेनन् । ओली नेपाल पक्षप्रति झन् आक्रामक हुन थाले । यो बीचमा नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी समेत गरेका थिए । हस्ताक्षर गरिसकेको बताइएको राजीनामा उनीहरुले सार्वजनिक गरेनन् ।
पार्टीको विवादलाई मिलाउन नसक्दा ओलीले दोश्रो पटक प्रतिनिधिसभा विघटन गरे । ओलीले नेपाल सहितका ११ जना नेताहरुलाई पार्टीबाट निस्कासन समेत गरे । नेता नेपाल पक्षसहितको साथमा प्रतिनिधिसभा विघटन बदर गरी नेपाली शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष सर्वोच्च अदालत पुगि सकेका छन् ।
ओलीले कारबाही नगरेका योगेश भट्टराई लगायतका नेताहरु पछिल्लो समय नेपाल पक्षमै खुलिसकेका छन् । एमालेले आइतबार बोलाएको स्थायी कमिटि बैठकले उनीहरुलाई पनि निस्काशन गर्छ भन्ने धेरैको अनुमान थियो । तर आइतबारको बैठक सोमबारलाई सारेर फेरि मंगलबार बस्यो । मंगलबारको बैठकले पनि पार्टी एकताको लागि पहल गर्ने भनेको छ ।
यो बीचमा बैठक सार्नुमा नेपाल पक्षलाई फेरि पनि पार्टीमा फर्काउन सकिन्छ कि भनेर प्रयास गरिएको चर्चा चलेकोमा बैठकले त्यसैलाई सत्य सावित गरेको छ । मंगलबारको स्थायी कमिटि बैठक बस्नु अघि सोमबार साँझ दुवै पक्षका दोश्रो तहका नेताहरुबीच व्यापक छलफल भएको समाचार पनि बाहिरिएको छ । ओली र नेपाल निकट नेताहरुबीच दरबारमार्गको होटल याक एण्ड यतिमा साँझ ६ बजेदेखि ११ बजेसम्म भएको बैठकमा ओली समूहका विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्बाङ तथा नेपाल पक्षको तर्फबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी भएको बताइएको छ ।
श्रोतका अनुसार पार्टी मिलाउन छलफल चलिरहेकाले पार्टीले थप नेताहरुलाई कारबाही गर्नेछैन ।
माथिका प्रकरणहरु हेर्दा पनि दोश्रो तहका नेताहरुको सक्रियताले सफलता पाउँछ भन्ने केही आधार देखिँदैन । अझ गत जेठ ६ गते र १७ गते सम्पन्न राष्ट्रियसभाका दुई उपनिर्वाचनले ओली र नेपाल समूहको दूरी बढाएको छ । माओवादीले कारवाही गरेका नेता राम बहादुर थापा वाग्मती प्रदेशमा र चन्द्र बहादुर खड्का लुम्बिनी प्रदेशमा नेपाल पक्षकै कारणले पराजित भए । यसले गर्दा एमालेको निर्णयहरुमा नेपाल पक्ष पार्टीप्रति आत्घाती बन्ने देखाएको छ ।
नेपाल पक्षका नेताहरुले नयाँ पार्टी दर्ता गरेर अगाडि बढ्ने बताइसकेका छन् । त्यसैले पनि ओली र नेपालको पुनर्मिलनको लक्षण तत्काल देखिएको छैन ।

















प्रतिक्रिया