Logo

राजनीति

नेपाल र खनाल छोडेर अरु नेता फकाउदै ओली समूह



एमालेले आफ्ना १२ नेतालाई स्पष्टीकरण सोधेको एक साता नाघे पनि कुनै निर्णय गरेको छैन । ती नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन् । तर, स्थायी कमिटीको मंगलबार बसेको बैठकले पनि यस विषयमा निर्णय लिएन ।

एमाले नेतृत्व माधवकुमार नेपाल पक्षका ती नेतालाई कारबाही गरिहाल्नेभन्दा पनि अन्तिम समयसम्म एकताको प्रयास गर्ने पक्षमा देखिएको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवाली एकताका लागि हदैसम्म लचिलो हुने बताए । उनका अनुसार स्पष्टीकरण सोधिएका १२ नेताको कारबाही प्रक्रिया रोकिएको छ । 

‘धेरै साथी मूलधारमा जोडिनुहोस्’, उनले भने, ‘बडो गर्वका साथ देउवालाई प्रधानमन्त्री बनाउने, आफ्नो पार्टीका नेतालाई हराउने कुरा गर्नुभएको छ । त्यही पनि फर्किनुभयो राम्रो नै हुन्छ । तर, एकताको प्रयासको तालमेलमा मेल खाँदैन ।’  

उनले केही सदस्य पार्टीबाट निष्कासनमा परेकाले कार्यदल भने अस्तित्वमा नरहेको बताए । उनले कार्यदल पुनर्गठन हुन सक्ने बताए । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, यज्ञबहादुर सुनारलगायतलाई जेठ १० मा स्पष्टीकरण सोध्ने निर्णय भएको थियो ।

वरिष्ठ नेताद्वय नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ जनालाई स्पष्टीकरण सोधेको दुई दिनमै निष्कासन गरिएको थियो । नेपालसहित नेतालाई जेठ ८ मा स्पष्टीकरण सोधेर १० गते पार्टी सदस्यसमेत नरहने गरी कारबाहीको निर्णय भएको थियो ।

एमाले नेताहरूले स्पष्टीकरण सोधिएका घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत नेतासँग संवाद गरिरहेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरूबीच सोमबार साँझ चार घन्टा छलफल भएको थियो । दरबारमार्गस्थित एक होटलमा भएको वार्ता एकता कसरी गर्ने भन्नेमा केन्द्रित भएको थियो ।

उक्त वार्तामा नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई सहभागी थिए । ओलीबाट विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली सहभागी थिए ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार ०७:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।