जनता समाजवादी पार्टी (जसपा) ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जाने भएकाे छ।
त्यसका लागि प्रधानमन्त्री केपी ओलीसँग सहमति भएकाे र दुई-चार दिनमै सरकारमा जाने जसपाका एक वरिष्ठ नेता लक्ष्मणलाल कर्णले बताएका छन्।
नेकपापछि जनता जसपा प्राविधिक रूपमा एक भए पनि मंगलबारदेखि व्यावहारिक रूपमा फुटेको छ ।
नेता कर्णले कान्तिपुर दैनिकसँगकाे कुराकानीमा मन्त्रालयका विषयमा भने टुंगाे लागिनसकेकाे बताएका छन्। ‘कुन दिने कुन राख्ने भन्ने प्रधानमन्त्रीको अधिकारको कुरा हो । त्यसमा टुंगो लाग्नासाथ सरकारमा जान्छौं,’ उनले भनेका छन्।
प्रधानमन्त्री ओलीले जसपा महन्थ ठाकुर-राजेन्द्र महताे पक्षकाे साथ लिएर संसद विघटन गरेका थिए। जसपाकाे अर्काे समूह बाबुराम भट्टराई र उपेन्द्र यादवले ओलीलाई बर्खास्त गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अघि सरेपछि जसपा फुटमा पुगेकाे हाे। मंगलबार दुवै पक्षले एकअर्कालाई कारबाहीकाे घाेषणा गरेसँगै जसपा फुटिसकेकाे छ।
प्रम ओलीले जसपाका मागहरु संविधान संशाेधनका लागि कार्यदल गठन, नागरिकता अध्यादेश जारी, मधेश आन्दाेलनका मुद्दा फिर्ता लिइसकेका छन् भने २०७२ मा कैलालीकाे टीकापुरमा भएकाे घटनामा अदालतबाट दाेषी ठहर भएकाकाे मुद्दा पनि फिर्ता लिनेगरी मंगलबार समझदारी गरिसकेका छन्।





















प्रतिक्रिया