काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ बजे बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।
नेताहरुको व्यस्तता भएको र पार्टी एकताका लागि भइरहेको पहल पनि निष्कर्षमा नपुगेका कारण एमाले स्थायी कमिटी बैठक स्थगित गरिएको एमालेले जनाएको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल समूहका केही नेताहरु बाहेक अन्यलाई सम्मानजनक रुपमा पार्टी एकता प्रक्रियामा सामेल गर्नेबारे छलफल भएको थियो । उक्त बैठकमा स्पष्टिकरण सोधिएका थप १२ जनालाई कारबाही गर्ने तयारी भए पनि उक्त निर्णय रोकिएको थियो ।
बुधबार पार्टी एकताका विषय भइरहेको पहलबारे छलफल गर्ने र यसअघि कारबाही गरिएका केही नेताको कारबाही फुकुवा गर्ने विषयमा छलफल हुने एजेण्डा तय गरिएको थियो । नेकपा एमालेको ओली समूहले यसअघि वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरुलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको छ ।
नेता नेपालको असहयोगका कारण राष्ट्रिय सभाको दुई सिटमा नेकपा एमालेका दुबै उम्मेद्वारले पराजय ब्यहोरेका थिए ।
ओली समूह नेपाल समूहले माग गरे अनुसार जेठ २ मा फर्किन लचक देखिएको छ । तर, नेपाल समूहले भने समय धेरै अघि बढिसकेका कारण अब जेठ २ मा फर्किए पनि एकता सम्भव नहुने जनाइरहेको छ । एमाले नेपाल समूहले भने ओलीले पटक-पटक सहमति गर्ने तर कार्यान्वयन नगर्ने र धोका दिने प्रवृति फेरि दोहोरिनसक्ने भन्दै मिल्ने कुरा त्यति सहज नभएको बताइरहेका छन् ।
नेपाल समूहका केही नेताहरुले नयाँ पार्टी खोलेर अघि बढ्नेसमेत बताइरहेका छन् । नेपाल समूहकै नेता भीम रावलले लगातार प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सरकारको आलोचना गरिरहेका छन् ।





















प्रतिक्रिया