Logo

राजनीति

नेपाल समूहका १७ जनसंगठनको ओलीलाई चेतावनी – जेठ २ मा नफर्किए पार्टी विर्सजन हुन्छ 



नेकपा एमाले विवाद पेचिलो बन्दै जाँदा पार्टी फुटको डिलमा पुगेको छ । तर, पछिल्लो समय पार्टी एकिकरण गर्नेभन्दै दोस्रो तहका नेताहरुको सक्रियता बढेपछि ओली पछिसमेत हटेका छन् । उनले स्पष्टिकरण सोधिएका १२ जना नेतालाई कारबाही गर्ने बताए पनि निर्णय भने गरिसकेका छैनन् । 

ओली र नेपाल समूहका दोस्रो तहका नेताले पार्टी एकता जोगाउन पहल गरिरहेको दाबी गरेका छन् । यही क्रममा बिहीबार नेपाल समूहका १७ जनसंगठनहरुले पार्टीलाई ०७५ जेठ २ मा फर्काउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

१७ जनसंगठनका प्रमुखले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी विधान विपरीत भएका निर्णय सच्याएर पार्टीलाई एकताबद्ध गर्न ओलीलाई आग्रह गरेका हुन् । 

विज्ञप्तिमा भनेका छन्, “हामी चाहन्छौं, आम नेता तथा कार्यकर्ता चाहन्छन्, एकताबद्ध एमालेकै नेतृत्वमा कम्युनिस्ट आन्दोलन सृदृढ बनोस् । हामी चाहन्छौं, एमाले कै नेतृत्वमा नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा होस् । यसको निम्ति पार्टी, जनसंगठन र पेसागत संगठनका सबै संरचनाहरुलाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीयतहसम्म क्रियाशील बनाइयोस् ।”

जनसंगठनका प्रमुखहरुले ०७५ जेठ २ अघिकै स्थितिबाट क्रियाशील नबनाइए पार्टी र आन्दोलन विर्सजनको बाटोमा जान सक्ने भन्दै आफूहरुले त्यस्तो हुन नदिने बताएका छन् ।

“जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनु पर्नेछ,” विज्ञप्तिमा उल्लेख छ, “इतिहासको यो आदेश र आवश्यकता निम्ति नयाँ प्रतिबद्धता र दृढताको साथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौं ।”

संयुक्त विज्ञप्ति:

 :

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १८:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।