Logo

राजनीति

माधव नेपालले भने – अब ‌ओलीलाई धेरै कुर्न सकिँदैन



नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरै कुर्न नसकिने बताएका छन् । आफ्नो समूहका केन्द्रीय सदस्यहरुको बिहीबार दिउँसोदेखि सुरु भएको भर्चुअल बैठकमा नेता नेपालले अब ओलीका लागि धेरै दिन नकुर्ने बताएका हुन् । 

बैठकमा माधव नेपाललाई उदृत गर्दै केन्द्रीय सदस्य युवराज ज्ञवालीले भने, “अब धेरै समय कुर्न सकिँदैन । तत्काल ओली त्यस्तो प्रतिबद्धता जनाउन तयार भए हामी एकताबाट पछि हट्दैनौं । त्यो नभए क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने र सिंगो नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने हिसाबले अघि बढ्नुपर्छ ।”

नेपाल समूहले संसद विघटनप्रति आत्मालोचना गरे मात्रै सहकार्य हुनसक्ने र आत्मालोचना नगरे संसद विघटनविरुद्धको संघर्षलाई जारी राख्‍ने जनाएको छ ।  बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले ओलीको संसद विघटन गर्ने कदम प्रतिगामी भएको ठहर गर्दै उनीसँगको सहकार्य लगभग अन्त्य भएको धारण राखेका थिए । 

ओली एकपछि अर्को गर्दै प्रतिगमनतिरै गएकोले आत्मालोचना गरेर जेठ २ फर्किएपछि मात्रै सहकार्य गरिने जनाएका हुन् । ओलीले त्यसो गर्न नसके पार्टी पुनर्गठन विकल्प नभएको केन्द्रीय सदस्य युवराज ज्ञवालीले बताएका हुन् । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र झलनाथ खनालसहित ११ जनालाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेका थिए । तर, थप १२ जनालाई कारबाही गर्ने बताए पनि कारबाही भने रोकिएको छ । 

ओली र नेपाल समूहका दोस्रो तहका नेताबीच पार्टी एकताको पहलका लागि वार्ता भइरहेको छ । 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १९:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।