संसद् विघटन गरेर अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी थालेका छन् । आठ मन्त्राललयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री ओलीले संसद् विघटनअघि निर्णायक समूहका साथ दिएको भन्दै जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई सरकारमा सहभागी गराउने तयारी छ ।
यसका लागि बिहीबार मध्यरातसम्म प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच बालुवाटारमा लामो छलफल भएको थियो । यसका लागि प्रधानमन्त्री ओलीले आफ्ना समूहका नेताहरुसँग छलफल गरिरहेका छन् ।
जसपाको महन्थ ठाकुर समूह आठ मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको हो । जसपालाई थप दुई राज्यमन्त्रीसमेत दिने ओलीको तयारी छ । ओली समूहका नेताका अनुसार सम्भवत: आजै नयाँ मन्त्रीहरुको शपथ ग्रहणको तयारी रहेको छ ।
संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो ।
तर, जसपाको उपेन्द्र यादव समूह भने प्रधानमन्त्री ओलीको चर्को विरोध गरिरहेको छ । जसपा विवादकै कारण महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने विषय केही लम्बिएको थियो । अहिले जसपा विवाद निर्वाचन आयोगमा पुगेको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो समूहका मन्त्रीहरु पनि हेरफेर गर्ने तयारी गरेका छन् ।

















प्रतिक्रिया