कोरोना महामारीको दोस्रो लहर नियन्त्रणका लागि लकडाउन जारी गरेको एक महिनाभन्दा बढी भइसकेको छ । सरकारले रोग नियन्त्रणका लागि लकडाउन जारी गर्दा ‘भोक नियन्त्रण’ गर्न नसकेर मानिसहरुको मृत्यु हुनसक्ने भन्दै नागरिक तहबाट राहत तथा खाद्यान्न वितरण गर्न सरकारलाई चर्को दबाब दिइयो । तर, सरकारले भने दैनिक ज्यालामजदुरी गर्ने वर्गको खानाको समस्या टार्न कुनै विशेष पहल गरेन । सरकारले केही गर्न नसकेको भन्दै चर्को आलोचना भयो ।
चर्को आलोचनालाई टार्नका लागि काठमाडौं महानगरपालिकाले लकडाउनको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गर्यो । लकडाउनको अवधिमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा फोन गर्न भनियो । काठमाडौं महानगरपालिकाकै प्रवक्ता ईश्वरमान डंगोलले बिहीबार कोही समस्यामा परेर पनि कहाँ सम्पर्क गर्ने भनेर अन्योल भएमा आफू बसोबास गरेको स्थानसहित ११८० मा फोन गरेर जानकारी गराउन आग्रह गरे ।
यसरी जानकारी प्राप्त भएपछि महानगरपालिकाका ३२ वडामध्ये कुन वडाबाट सहयोग गर्न सहयोग हुन्छ सोहीअनुरुप आवश्यक खाद्य सामग्री सहयोग गर्न डंगोलले बताएका थिए । उनले भनेका थिए, “कसैलाई छाक टार्नकै लागि समस्यामा हुनुहुन्छ भने ११८० मा फोन गर्नुस्, पैसा लाग्दैन ।”
तर, प्रवक्ता डंगोलले एकदिनपछि नै आफ्नो बोली फेरेका छन् । घोषणा गरेपछि कति जनालाई खाद्य सामग्री उपलब्धी गराइयो र कतिले फोन गरेर सहयोगको आग्रह गरेका छन् र कति प्रभावकारी भइरहेको छ भन्ने बुझ्नका लागि ११८० मा फोन गर्दा भने आफूहरुलाई जानकारी नभएको प्रतिक्रया दिए । ११८० बाट जवाफ आयो, “हामीलाई यो विषयमा जानकारी छैन ।” खाद्यान्न उपलब्ध गराउने कुराबारे ११८० बाट अनविज्ञता प्रकट गरियो ।
महानगरका प्रवक्ता डंगोललाई बुझ्दा उनले भने, “११८० मा फोन गर्न मैले नै अपिल गरेको हो । तर, खाद्यान्न वितरणका लागि भने होइन ।”
उनले ११८० मा कोरोनाका विषयमा जानकारी दिइने, पीसीआर परीक्षण, अस्पताललगायतका जानकारी उपलब्ध गराइने बताए । उनले कसैले व्यक्तिगतरुपमा निकै समस्या भएमा वडासँग समन्वय गरेर खाद्यान्न उपलब्ध गराउन सकिने भए पनि राहत वितरण अथवा छाक टार्न समस्या भएकाहरुलाई खाद्यान्न उपलब्ध गराउने कुनै योजना नभएको बताए ।






















प्रतिक्रिया