Logo

राजनीति

भ्रातृसंस्था खुम्चिएको कांग्रेसमा फस्टाउँदै एनजीओ : पालिकास्तरमा संगठन, पैसावाललाई पद 



‘महान् वामपन्थी एकता’ गर्न हिँडेका कम्युनिस्ट पार्टीहरुमा गृहकलहका कारण सल्केको भुसको आगोले डढेलोको रूप लिइरहेको छ । वैकल्पिक शक्ति निर्माणको नारा दिएर हिमाल, पहाड, तराई मिलाउने अभियान बोकेको जनता समाजवादी पार्टी सत्ता र सडकमा पोखिँदै छ । यस्तो अवस्थामा लामो प्रजातान्त्रिक इतिहास बोकेको, कठिन कालखण्डमा पनि आफूलाई अब्बल सावित गरेको  मुलुककै अभिभावकको जिम्मेवारी बहन गर्नुपर्ने नेपाली कांग्रेसप्रति पनि जनताको आकर्षण हुन सकेको छैन । 

नेपालको कम्युनिस्ट राजनीति इतिहासकै कठिन मोडमा पुगेको बेला प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेस पनि जनताका प्रत्यक्ष मुद्दाहरुसमक्ष पुग्‍नु पर्ने हो । निरन्तर ओरालो यात्रामा लागेको कांग्रसको गति वाम दलहरुको आरोलो यात्राको गति द्रुत भएर अलि सुस्ताएकोजस्तो देखिएको मात्र हो । कांग्रेस र लोकतन्त्र पर्यायवाचीजस्तै भनिएको मुलुक नेपालमा अहिले लोकतान्त्रिक व्यवस्था कमजोर बन्दै गएको छ । कांग्रेस कमजोर हुनुको फाइदा उठाउँदै लगातार प्रजातन्त्रमाथि प्रहार भइरहेको छ ।

 कुनै पनि पार्टीको बलियो हुनका लागि त्यसका नेता-कार्यकर्ताहरु नै मुख्य शक्ति आर्जनका स्रोतहरु हुन् । पछिल्लो समय कांग्रेसमा व्यक्ति बलियो हुने र संगठन कमजोर हुने क्रम बढ्दै गएको छ । यसको मुल कारण हो, कांग्रेसमा भएका नेतापिच्छेका एनजीओहरु ।  अहिले हेर्दा कांग्रेसका सबै सांगठनिक संरचनाहरु अपूर्ण र अस्तव्यस्त छन् । संघीय संरचनाअनुसार कांग्रेसले पार्टी पूर्ण संरचना बनाउन सकेको छैन । कांग्रेसले भदौमा पार्टीको १४ औं महाधिवेशन गर्न नसकेमा पार्टीको वैधानिकता नै समाप्त हुनेछ । कांग्रेसका हरेक नेता पार्टी कमजोर भएको स्वीकार गर्छन् । तर, पार्टीलाई बलियो बनाउने जिम्मेवारी नेतृत्वको भएको भन्दै आलोचना गर्दै हिँड्नेहरुको जमात ठूलो छ । 

अहिले कांग्रेसका भ्रातृ संस्थाको ‘अस्थिपञ्जर मात्र बाँकी’ छ । पार्टीको नर्सरी भनिएको नेपाल विद्यार्थी संघ, तरुण दल, किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, दलित संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र ठाकुर समाजको समयावधि सकिएको वर्षौ भइसक्दा पनि नयाँ नेतृत्व चयन हुन सकेको छैन । 

नेपाल किसान संघ र नेपाल आदिवासी जनजाति संघमा १७ वर्षदेखि भानु सिग्देल र इन्द्रबहादुर गुरुङले नेतृत्व ओगटिरहेका छन् । नेपाल प्रजातान्त्रिक सेनानी संघका अध्यक्ष टंकप्रसाद शर्मा कँडेलले १७ वर्षदेखि महाधिवेशन नगराएर नेतृत्वमा कब्जा जमाएका छन् । 

नेपाल विद्यार्थी संघका तत्कालीन अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल सफलतापूर्वक हस्तान्तरण गर्न सकेनन् । नेविसंघको ‘असफल अध्यक्ष’ को ट्याग लागेका महरले संगठनलाई बलियो बनाउने, सोही अनुसारका कार्ययोजनाहरु ल्याउने र समयमै महाधिवेशन गराउन सकेनन् । कार्यकाल पूर्णरुपमा विवादित बन्दै गयो । महरकै कारण नेविसंघ बदनाम हुने भएपछि पार्टीले नेविसंघको नेतृत्व राजीब ढुंगालाई दियो । ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी पाएको राजीव ढुंगाना नेतृत्वको तदर्थ समितिले हालसम्म पूर्णता पाउन सकेको छैन । 

त्यसैगरि नेपाल तरुण दलको कार्यकालको समयाअवधि सकिएको पनि लामो समय भइसकेको छ । तरुण दलका तत्कालीन महासचिव भूपेन्द्रजंग शाहीले पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गरेको थियो । उनको कारबाहीपछि पनि संगठन विस्तार हुन सकेको छैन । 

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष भोजराज श्रेष्ठ र नेपाल तामाङ संघका अध्यक्ष कबेलबहादुर लामाले १४ वर्षदेखि संस्थाको महाधिवेशन गराउन सकेका छैनन् । नेपाल ठाकुर समाजका अध्यक्ष अनिरुद्र ठाकुरले पनि स्थापना भएदेखि नै महाअधिवेशन गराउन सकेका छैनन् । कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद मीन विश्वकर्मा ८ वर्षदेखि नेपाल दलित संघका अध्यक्ष छन् । 

यसले पनि नेता र कार्यकर्ताको प्राथमिकतामा पार्टी र संगठनलाई बलियो बनाउने नभएको स्पष्ट देख्‍न सकिन्छ । पार्टीले गठन गरेका विभागहरु विस्तारमा असन्तुष्टि जनाउने नेताहरु एनजीओको संगठन विस्तारमा पनि निकै सक्रिय देखिन्छन् । पार्टीका भ्रातृसंस्थाहरु यसरी खुम्चिँदै जानु र नेताहरुका एनजीओ फस्टाउँदै जानुले पनि पार्टीलाई कमजोर बनाइरहेको छ । पार्टी सुदृढ भएन भन्दै गाली गर्ने र आफ्नो असफलतालाई ढाक्‍नका लागि उनीहरुले पार्टीको मुल नेतृत्वमाथि दोष थोपर्ने गरेका छन् । कांग्रेस अधिकांश नेता-कार्यकर्ताहरुलाई राजनीतिलाई भजाएर अन्तैबाट आयआर्जन गर्ने स्रोत निर्माण गरिरहेका छन् । यसका लागि उनीहरुले आ-आफ्नै एनजीओहरु चलाएका छन् । 

व्यापारी र पैसावाललाई पद बाँड्दै गुट निर्माणको अभ्यास

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरो चिन्तन पौडेलले यतिबेला ‘युवा सजगता अभियान’ नामक एनजीओ चलाइरहेका छन् । उनले एनजीओको संगठन सातै प्रदेश, जिल्ला र विदेशमासमेत विस्तार गरेका छन् । त्यसैगरि नेता पौडेलका ज्वाइँ परमेश्वर पोखरेलले ‘सामाजिक लोकतन्त्र अध्यायन केन्द्र’ चलाउने गरेका छन् । उनले केन्द्र,  प्रदेश र जिल्ला समिति समेत निर्माण गरिसकेका छन् ।

यस्तै कांग्रेस नेता गगन थापा निकट युवाहरुको समूहले युथ काँग्रेस नामक सस्था गठन गरेको छ । सचिन तिमिल्सिना अध्यक्ष रहेको युथ कांग्रेसले प्रदेशमा प्रदेश समिति र विभिन्न जिल्लामा जिल्ला कार्यसमिति गठन गरिसकेको छ । 

नेविसंघको महाधिवेशनसमेत गराउन नसकेका नैनसिंह महरले ‘स्कुल अफ डेमोक्रेसी’ चलाइरहेका छन् । नेविसंघको संगठन बलियो बनाउन नसकेका र संगठनमा रहेका कार्यकर्ताहरुलाई एकत्रित गर्न नसकेका महरले यस एनजीओको संकठनलाई स्थानीय तहसम्म विस्तार गरिरहेका छन् । उनले व्यापरी तथा पैसावालहरुलाई पद बाँडिरहेको भन्दै आलोचनासमेत भइरहेको छ ।  

यस्तै शशांक कोइरालानिकट निलकण्ठ रिजाल अध्यक्ष रहेको ‘बिपी कोइराला युवा नेतृत्व मञ्च’ले पनि पछिल्लो समय विभिन्‍न जिल्लाका संगठन विस्तार गरिरहेको छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट नेविसंघका महामन्त्री बलदेव तिमिल्सिना अध्यक्ष रहेको ‘जिपि कोइराला लोकतन्त प्रबर्द्धन अध्ययन केन्द्र’का सञ्चालन गर्दै आएका छन् । यस्तै कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत निकट प्रेमराज जोशीले आफूअध्यक्ष रहेको बीपी कोइराला ‘स्कुल अफ पब्लिक पोलिसी’का नाममा गतिविधि अगाडि बढाएको पाइन्छ । 

सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपाल नामक संस्थामा पौडेल निकट मनोजमणि आचार्य, प्रमोदहरि गुरागाँई र प्रतिमा गौतमले विभिन्‍न कृयाकलाप गर्दै आएको पाइन्छ । यस्तै प्रकाशमान सिंह निकट ‘मंगलादेवी स्मृति प्रतिष्ठान’ले पनि संगठन विस्तारलाई तीव्रता दिएको छ । 

यस्तै नोना कोइराला स्मृति प्रतिष्ठानका तर्फबाट कांग्रेस नेता डा. शेखर कोइरालाले विभिन्‍न गतिविधिहरु गरिरहेका छन् । डा.नारायण कुमार अध्यक्ष रहेको उक्त प्रतिष्ठानका शेखर संरक्षक समेत हुन् । यस्तै कांग्रेसमा सबैभन्दा ठूलो सञ्जाल भएको प्रतिष्ठानका रुपमा जिपि कोइराला फाउन्डेसनलाई लिइन्छ । कांग्रेस नेतृ सुजाता कोइराला अध्यक्ष रहेको उक्त संस्थाको देश तथा विदेशमा ठूलो सञ्चालन रहेको पाइन्छ ।

सुशील कोइराला मेमोरियल फाउन्डेसनको अध्यक्ष महामन्त्री डा. शशांक कोइराला समेत रहेका छन् । त्यसको सम्पूर्ण गतिविधि फाउन्डेसनका सदस्य सचिव अलुत कोइरालाले गर्दै आएका छन् । यस्तै कांग्रेस उपसभापति विमलेन्द्र निधि अध्यक्ष रहेको महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान पनि रहेको छ । यस्ता संस्थाहरु गठन गरेर पार्टी संगठनसँग जोडिएका कार्यर्तालाई आफूसँग जोडर गुट निर्माणको अभ्यास गरिरहेको देखिन्छ । यस्ता संगठनको पद व्यापारी, पैसावाल तथा पहुँच भएको र आफ्नो गुणगान गर्नसुक्ने व्यक्तिलाई वितरण गरेको पाइन्छ । 

पार्टीलाई नोक्सान भयो, निति बनाएर कार्यान्वय गर्नुपर्छ 

यसरी व्यक्तिपिच्छे एनजीओ बनाउने र त्यसकै शक्तिलाई परिचालन गर्दै पार्टीमा बार्गेनिङ् गर्ने गरिएकोसमेत पाइएको छ । यस विषयमा पार्टीको धारणा के हो भनेर सोध्दा कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले ती नेताहरुको व्यक्तिगत कुरा भएको र पार्टीसँग कुनै आवद्धता नभएको उनले बताए । उनले भने, “विभिन्‍न नेताहरुले सञ्‍चालन गरिरहेका छन् । पार्टी कमजोर भयो भन्दै फेरि उहाँहरु नै आलोचना गर्नुहुन्छ । ती संगठनहरुसँग पार्टीको कुनै आवद्धता छैन । नेताहरुले आफू अनुसार सञ्‍चालन गर्दै आउनु भएको छ ।” 

कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले यस्ता संस्थाहरुले पार्टीलाई कमजोर बनाएको प्रतिक्रिया दिए । उनले भने, “पार्टीमा नेतापिच्छे भएका यस्ता संस्थाहरुले ठूलो धक्का लागेको छ । जो व्यक्तिले पार्टीको आधिकारिक संगठनको प्रमुख हुँदा संगठन विस्तार गर्न सकेन, जसले संगठनलाई बलियो बनाउन सकेन र समयमा निर्वाचन गराउन सकेनन् । आज तिनै व्यक्तिहरुका यस्ता संस्थाहरु (एनजीओ) बलियो र स्थानीय तहमा संगठन बनाएका छन् । नेताको ध्यान पार्टीको संगठनभन्दा पनि एनजीओमा बढी रहेछ भन्‍ने यसले पनि थाहा हुन्छ ।” 

एनजीओ खोल्‍न नेपालको कानुनले नै छुट दिएका कारण खोल्‍न पाउने भए पनि कांग्रेसले निर्णय नै गरेर कांग्रेसको सदस्यता प्राप्त व्यक्ति पनि कुनै पनि एनजीओमा आवद्ध हुन नहुने नीति बनाउनुपर्ने उनले बताए । उनले भने, “पार्टी कमजोर भयो भनेर सबैले भन्‍ने तर, बलियो बनाउन कसैले पहल नगर्ने । आफू बलियो हुन यस्तै संस्थाका शक्तिलाई देखाएर पार्टीमा बार्गेनिङ् गर्ने क्रमम रोक्‍नुपर्छ ।”

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार १६:३६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।