निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले वर्तमान संविधान निर्माण गर्ने नेताहरुले माफी माग्नुपर्ने बताएका छन् ।
सञ्चारकर्मीहरुसँगको भेटघाटमा नेता साहले राजनीतिक दल र नेताहरुको दुरदर्शीताको अभाव र भागवण्डाको आधारमा निर्माण भएको वर्तमान संविधानमा रहेका गलत प्रावधानहरुको कारण देशले अहिले दुर्दशा भोग्नुपरिरहेको बताए ।
प्रमुख राजनीतिक दलहरुले आ–आफ्नो हिस्साको व्यवस्था मिसाएर बनाएको ‘खिचडी संविधान’ ५ वर्षमै नेताहरुलाई मुठभेढको अवस्थामा पुर्याउनु संविधान गलत रहेको प्रमाणित भएको नेता साहको भनाई छ । संविधान निर्माण बनाउने नेताहरुले जनताका अगाडि उभिएर माफी माग्दै अग्रगामी एवं परिवर्तनकारीहरुलाई संविधान निर्माणको जिम्मा सुम्पिनुपर्ने उनको तर्क छ ।
‘संवैधानिक प्रावधानको बुझाईको विषयमा देश अन्योलग्रस्त छ, विवादित र विभाजित छ । प्रमुख राजनीतिक पार्टीहरु नै एकअर्का माथि आरोप–प्रत्यारोपमा उत्रेका छन् । जनस्तरमै अस्वभाविक मुटभेढको स्थिति सृजना हुँदैछ । यतिसम्म न्यायिक निरुपणको कामभन्दा बढी संवैधानिक स्पष्टता खोज्न हैरान भएको न्यायालय समेत विवादित र विभाजित बन्दैछ’ नेता साहले भने, ‘आखिर किन एक मतले संविधान बनाएका नेताहरु नै आफैले लेखेको प्रावधानमा विभाजित हुँदै ५ वर्ष पनि नपुग्दै संविधानको प्रत्यक्ष नेतृत्व गरेको नेताहरुमा विपरीत बुझाई देखापर्नुलाई के सामान्य रुपमा लिन मिल्छ रु कदापी यसलाई सही र सामान्य मान्न सकिदैन ।’
हिजो दुरदर्शीताको अभाव र भागवण्डाको आधारमा बनेको वर्तमान संविधानको कारण नै देशको यो दुर्दशा भएको बताउँदे उनले गलत छ भन्ने कुरा थाहा पाउँदा पाउदै पनि संवैधानिक प्रावधानलाई नियतवस् त्यसलाई स्वीकारेर ताली पिट्नेहरु आज देशमा भइरहेको सम्पूर्ण क्षतिको जिम्मा लिनुपर्ने बताए ।
‘यस अर्थमा भन्ने हो भने संविधान निर्माताहरुले आम जनताको अगाडि एक्सक्युज भन्ने वेला आएको छ । उनीहरुले आममाफी माग्नुपर्छ’ नेता साहले थपे, ‘खासमा भन्नुहुन्छ भने यो संविधान विपरीत वर्ग एवं दलहरुको भागवण्डाको एउटा लिखित दस्तावेज हो, जो विपरीत प्रावधानसहित साम्प्रदायिक भावमा निर्माण भएको हो । यसैको आज देशमा यस्तो संकट उत्पन्न भएको हो । बबुर रोपेर धान फल्ने अपेक्षा राख्नु मुर्खता हो । नेताहरुले झुटो बोलेर एकथरी कुरा र अर्कोथरी व्यवस्था बनाएको अहिले प्रमाणित भएको छ । त्यसैले दल र नेताहरुले गरेको भागबण्डाको अपराधको सजाय देशले पाउनुहुँदैन । परिवर्तनकारीहरुलाई संविधान बनाउने जिम्मा सुम्पिनुपर्छ ।’
नेता साहले संविधान निर्माणको प्रक्रियादेखि जारी हुने समयसम्म स्पष्ट व्यवस्थाका लागि संविधानसभाभित्र र बाहिर वकालत र पैरवी गरेपनि त्यसले सफलता पाउन सकेको थिएन । संविधान गलत छ भन्दै उनले संविधानमा हस्ताक्षर गरेका थिएनन् भने निरन्तर यस विषयमा आवाज उठाउदै आएका छन् ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।





















प्रतिक्रिया