सुर्खेत । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा मन्त्री बनेकाहरुलाई १३ बुँदे आचारसंहित जारी गरिएको छ । कर्णाली प्रदेश कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले पार्टीबाट मन्त्री बनेकाहरुलाई १३ बुँदे आचारसंहिता जारी गरिएको हो ।
कांग्रेसबा सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठ नियुक्त भएका छन् । उनको आइतबार दिउँसो शपथ गराउने तयारी भइरहेको छ ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना महामारी नियन्त्रण गर्न, नागरिकका दैनिक जीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषय सम्बोधन गर्न, सुखी, समृद्ध र समुन्नत कर्णालीको निर्माणका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी हुने निर्णय भएको बताए ।
१३ बुँदे आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, सादा जीवनशैली अपनाउने लगायतको छ । यस्तै, सरकारमा सहभागीले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वाभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।
मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यावसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्न पनि कांग्रेसले मन्त्रीलाई प्रतिबन्ध लगाएको छ ।
सरकारमा सहभागी हुने मन्त्रीहरुले नागरिकप्रति समान व्यवहार गर्नुपर्ने छ । “कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनै पनि कार्यलाई निरुत्साहित गर्नुपर्नेछ,” आचारसंहितामा भनिएको छ, “कानुनले बर्जित गरेका कुनै पनि आचरण विपरीत हुने कार्य गर्न पाइने छैन ।”
एमालेले समर्थन फिर्ता लिँदा माओवादी नेतृत्वको सरकारलाई साथ दिएको कांग्रेस झण्डै डेढ महिनापछि सरकारमा जान लागेको हो । ४० सदस्यीय प्रदेशसभामा पाँच सांसद निलम्बनमा परेसँगै हाल ३५ सांसद छन् । जसमा कांग्रेसका ६ र माओवादीमा १२ सांसद छन् ।















प्रतिक्रिया