प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काउन भएपछि नेपाली राजनीतिमा तरंग पैदा भएको छ ।
विशेषगरी ओलीसँग सम्बन्ध विच्छेदको अवस्थामा पुगेका एमाले माधवकुमार नेपाल पक्षका नेताहरू धर्म शंकटमा परेका छन। कतिपयले ओलीको निर्णयलाई स्वागत गरेका छन् भने कयौं नेताले आशंका जनाएका छन्।
नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीलेओलीको वक्तव्यलाई ‘एक प्रकारले पार्टी एकता हुन नदिने डिजाइनका साथ आएको’ बताएकी छन्। उनले फेसबुकमा भनेकी छन्, ‘यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्षबीचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन‘ झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ।’
अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिने भन्ने कुरै नआउने पनि उनले उल्लेख गरेकी छन् । ‘बुँदा नम्बर ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिने ? फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र ? लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिताबिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन,’ उनले भनेकी छन्।
प्रतिक्रिया