Logo

राजनीति

जनता कम्युनिष्टबाट वाक्क, कार्यकर्ता नेतृत्वबाट दिक्क : सिटौला



कोरोना संक्रमणपछिको लामो समय गृहजिल्ला झापामा बिताएका नेपाली कांग्रेसका पूर्बमहामन्त्री कृष्णप्रसाद सिटौला असोज दास्रो साता राजधानी काठमाडौं फर्केका छन्। गृहजिल्ला बसाईका क्रममा कार्यकर्तासँगको बाक्लो उठबसमा तिनका गुनासोको पोको बोकेर नेता सिटौला राजधानी आएका हुन्। 

कम्युनिष्ट पार्टी सत्तामा आए मुलुकले काँचुली फेर्ने आश्वासनबाट मख्ख भएर मत दिएका जनता तिनको सर्बसत्तावादी शैलीबाट वाक्क भएका छन्। यसरी वाक्क भएर बिभिन्न पार्टी छाडेका करिब २५०० जनालाई नेता सिटौलाले कांग्रेसमा स्वागत गरे।

ती कार्यकर्ताले पार्टीभित्र पूर्ण परिबर्तन चाहेकोले आगामी महाधिबेशलाई बिशेष महत्वका साथ हेरिएको उनको भनाई छ। जिल्ला बसाईका क्रममा कम्युनिष्ट शासनबाट जनता निराश भएको आफूले पाएको बताउने सिटौलाका अनुुसार कांग्रेस कार्यकर्ताहरु केन्द्रीय नेतृत्वका गतिबिधि र कार्यशैलीबाट दिक्क भएका छन्। त्यसैले तल्लो तहका कार्यकर्ताहरुसमेत पार्टीभित्र आमूल परिबर्तनका पक्षमा रहेको उनले सुनाए। 

कम्युनिष्ट अधिनायकबादका बिरुद्ध लड्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै उनले त्यसका लागि नयाँ सोच र रणनीतिका साथ अघि बढ्नुपर्ने बताए। आजको मूल एजेण्डा भनेको कम्युनिष्ट अधिनायकबदबाट मुलुकलाई कसरी जोगाउने भन्ने नै भएकोले सबैलाई मान्य हुने गरी बृहत एकता गरेर नयाँ मुभमेण्ट लिएर जनतामाझ जानुपर्ने आबश्यकता नेता सिटौलाले सुनाए।

यो परिस्थितिका बारेमा उनले शनिबार दिउँसो आफ्नै निवासमा आफू निकट नेताहरुसँग बृहत छलफल गरेका थिए। त्यसपछि नेता सिटौलाले बुढानीलकण्ठ पुगेर सभापति शेरबहादुर देउवासँग कुराकानी गरे। भेटमा नेता सिटौलाले महाधिबेशनको कार्यतालिकामा नकारात्मक ढंगले प्रभाबति परेकोबारे ध्यानाकर्षण गराएका थिए। साउनभित्र पूरा गर्नुपर्ने काम भदौ मसान्तभित्रसमेत पूरा नभएपछि मौन बस्दा महाधिबेशन झनै अनिश्चित हुने उनको भनाई थियो।

यद्यपि असोज १९ गतेका लागि बोलाइएको बैठकमा १४ औं महाधिबेशनको एजेण्डा समाबेश छ। देउवासँगको भेटमा सिटौलाको प्रश्न थियो, १४ औं महाधिबेशनको एजेण्डा त दिनु भयो, तर प्रस्ताब के छ रु कार्यतालिका अनुसार काम अगाडि बढ्न नसक्ने भन्दै धेरै कुरा सोचेर प्रस्ताब ल्याउन सभापतिलाई आफूले सुझाब दिएको नेता सिटौलाले बताए।

केन्द्रीय कार्य समितिको पछिल्लो बैठकमा आफूले यो कार्यतालिका अनुसार समयमा महाधिबेशन संभब छैन, यो काल्पनिक भयो भन्दा सभापति र बरिष्ठ नेता पौडेलले किन हुदैन भनेर जिद्धी गरेको स्मरण गर्दै सिटौलाले अहिले त्यहि परिस्थिति उत्पन्न भएको उल्लेख गरे।

हरेक महाधिबेशनमा क्रियाशील सदस्यताको बिबाद नै मूल समस्या हुने गरेको भन्दै त्यसको समाधानका लागि छानविन समिति गठन गर्ने गरिएको उनले बताए। तर अहिले छानविन समिति नै गठन भएको छैन। यो परिस्थितिमा तोकिएको समयमा महाधिबेशन हुन नसक्ने लगभग प्रष्ट हुँदा पनि सभापति देउवाले तोकिएकै समयमा महाधिबेशन गर्ने कुरा गरेपछि सिटौला आश्चर्यमा परेका छन्।

सभापतिले यस्तो कुरा गरेको भोलिपल्ट आइतबार बिहान बरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा कुराकानी हुँदा तोकिएको समयमा किन हुन सक्दैन, हुन्छ भनेर पौडेलले समेत जिद्धी गरेको सिटौलाले सुनाए।

१४ औं महाधिबेशन नेता बन्ने मात्र होइन संगठन निर्माण अभियान पनि भएकोले वडादेखि केन्द्रसम्मको अधिबेशन निष्पक्ष नभएमा समस्या हुने सिटौलाको भनाई थियो। अघिल्लो बैठकमा यहि कार्यतालिका अनुसार महाधिबेशन समयमा हुन सक्दैन भनेर आफूले भन्दा हुन सक्छ भनेर तपाईले भन्नु भएको होइन भनेर पौडेलसँग भनेका थिए।

पार्टीमा संपूर्ण एकता नभए कम्युनिष्ट अधिनायकबादबिरुद्ध कसरी संघर्ष गर्न सकिन्छ भन्ने सिटौलाको प्रश्न थियो। त्यसकारण यसतर्फ ध्यान दिनुपर्नेमा सिटौलाले जोड दिएका थिए। फागुनमा महाधिबेशन गर्न सकिन्छ भनेर सभापतिकै शैलीमा पौडेलको भनाई सुनेपछि अरु बिषयमा बिबाद भए पनि गृहकार्यबिना महाधिबेशन हुने भन्नेमा उहाँहरुको मतैक्यता देख्दा आफू आश्चर्यमा परेको सिटौलाले सुनाए।

प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार  १० : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।