Logo

राजनीति

ओलीको एमाले एकता प्रस्तावपछि नेपालको सन्देश लिएर प्रचण्ड देउवा निवास



प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव गरेपछि नेताहरुको दौडधुप बाक्लिएको छ । एमाले अध्यक्ष ओलीले माधव नेपाल समूहलाई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका छन् । उनले पार्टीलाई जेठ ३ गतेको अवस्थामा फर्काउन तयार गरेकोसमेत प्रस्ताव गरेका हुन् । 

ओलीको प्रस्तावपछि नेपाल समूहले आन्तरिक छलफल गरिरहेको छ भने अन्य दलका नेताहरुसँग पनि छलफल थालेका छन् । ओलीले पार्टी एकताका लागि आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरूको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका छन् । उक्त शर्तपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपालबीच भेट भएको हो । 

दुबै नेताबीच आइतबार कोटेश्‍वरमा भेट भएको थियो । नेता नेपालसँगको भेटपछि उक्त सन्देश बोकेर प्रचण्ड बूढानिलकण्ठस्थित कांग्रेस सभापति देउवा निवास पुगेका हुन् । नेपाल समूहको बैठक चलिरहेका कारण नेता नेपालको सन्देश लिएर प्रचण्ड देउवा निवास पुगेको स्रोतले जानकारी दिएको छ । 

ओलीको प्रस्तावपछि माओवादी केन्द्रका दोस्रो तहका नेताहरु पनि छलफलमा जुटिरहेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि अन्य नेताहरुसँग छलफल भएको छ । 

एमाले एकताका लागि नेपाल समूहका घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डेको मुख्य भूमिका रहेको बताइएको छ ।  खनाल-नेपालले पनि पार्टीलाई ३ जेठ २०७५को अवस्थामा फर्काउनुपर्ने अडान राख्‍दै आएका थिए । त्‍यसलाई मध्‍यनजर गर्दै ओलीले यस्‍तो आह्‍वान गरेको बताइएको छ । 

प्रधानमन्त्री ओलीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने बताएपनि नेपाल समूहका कुनै पनि नेताले मन्त्रीका लागि नाम नदिएपछि स्थगित गरिएको थियो । नेपाल समूहको निर्णयको पर्खाइमा प्रधानमन्त्री ओली रहेका छन् । 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १४:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।