Logo

राजनीति

नेपाल समूहको निष्कर्ष – ओलीले स्टन्‍ट गरे, पार्टी एकता सम्भव छैन



नेकपा एमाले माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी एकता नहुने निष्कर्ष निकालेको छ । एमालेको नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठकले ओलीले पार्टी एकताका नाममा ‘स्टन्ट’ गरेको आरोप लगाउँदै पार्टी एकता सम्भव नभएको निष्कर्ष निकालेको हो । 

छलफलले अध्यक्ष ओलीले एकताका नाममा जारी गरेको वक्तव्यले पार्टी एकता नहुने निष्कर्ष निकालेको नेता युवराज ज्ञवालीले जानकारी दिएका छन् । उनले भने, “अहिले पनि हामी एकताकै पक्षमा छौं, तर अध्यक्ष ओलीले आइतबार जारी गरेको वक्तव्यले एमालेलाई जेठ २ को अवस्थामा फर्काउने संकेत गरेको छैन । संविधान मिचेर संसद विघटन गरेकोप्रति पनि उहाँले आत्मालोचना गर्नुभएको छैन ।”

नेता ज्ञवालीले स्थायी समितिका सदस्यहरुको बीचमा भएको छलफलले अध्यक्ष ओलीको प्रस्तावमा आफ्नो समूहले लिखित जवाफ नै दिने तयारी गरेको समेत जानकारी दिए ।  “प्रेस स्टेटमेन्ट तयार हुदैछ वरिष्ठ नेताले जारी गर्नुहुन्छ । त्यसमा धेरै कुरा आउँछन्,” उनले थपे । 

त्यस्तै खनाल-नेपाल समूहको छलफलले ओलीले भनेजस्तो प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा पुगेको मुद्दाको हस्ताक्षर समेत फिर्ता लिन नसक्ने ठहर गरेको छ । ‘ओलीले एकताको नाममा एकताको विपक्षमा वक्तव्य जारी जारी गरेको नेपाल समूहले जनाएको छ । 

फाइल तस्बिर ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १५:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।