Logo

राजनीति

देउवा निवासमा तीन शीर्ष नेताबीच दोस्रो पटक भेट, के-के हुँदैछ छलफल ?



कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका तीन शीर्ष नेताबीच दोस्रो पटक छलफल भइरहेको छ । छलफलमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार सहभागी छन् ।

सोमबार दिउँसो प्रचण्डले नेपाल र देउवालाई छुट्टाछुट्टै भेटेका थिए । फेरि नेपाल र प्रचण्डको देउवासँग दोस्रो पटक संयुक्त भेट भएको हो । आफ्नो समूहका स्थायी समितिको बैठक सकेर नेपाल बूढानिलकण्ठ पुगेका थिए ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा एकता आह्वान गर्दै ‘निर्णायक’ प्रस्ताव अघि सारेका थिए । त्यसलगत्तै प्रचण्ड सक्रिय देखिएका छन् । माधव नेपालको समूहले ओलीको आह्वानलाई खारेज गरेको छ ।

नेकपा एमाले अध्यक्ष ओलीले आइतबार पार्टी एकताको प्रस्तावमा नेपाल समूहका सांसदको रिटमा प्रयोग भएको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सारेपछि उत्पन्न आशंका मेट्न गठबन्धनका नेताहरु छलफलमा जुटेको बताइएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा नेपालसमूहका २३ सांसदको हस्ताक्षर छ । नेता नेपालले सोमबार बसेको आफ्नो समूहको स्थायी कमिटी बैठकमा हस्ताक्षर फिर्ता नहुने बताइसकेका छन् । त्यही विषयलाई आश्वस्त पार्न नेताबीच छलफल भएको हो ।

देउवा निवासको छलफल अघि दाहाल र नेपालबीच पनि भेटवार्ता भएको थियो । दाहालसँगको भेटमा नेपालले हस्ताक्षर फिर्ता नहुने प्रतिबद्धता जनाएका छन् । तीन शीर्ष नेताबीच भानु देउवाले प्रदेश २ र सुदूरपश्चिम सरकारबारे छलफल भएको बताए ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिँदैछन् । प्रदेश २ मा भने ओली सरकारमा सहभागी भएको जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका मन्त्रीहरुलाई मुख्यमन्त्रीले बखार्स्त गरेपछि कांग्रेससँग सत्ता साझेदारीका लागि छलफल चलिरहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १७:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।