Logo

राजनीति

शीर्ष तीन नेताबीच बूढानिलकण्ठमा डेढ घण्टा छलफल, के आयो निष्कर्ष ? 



प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एमाले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि विपक्षी गठबन्धनका नेताहरुको दौडधुप सुरु भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका तीन शीर्ष नेताबीच आइतबार दुई पटक छुट्टाछुट्टै छलफल भएको हो । 

विपक्षी गठबन्धनको बैठकले वर्तमान सरकारले एकपछि अर्को धाँधलीयुक्त र भ्रष्ट कार्य गरेको निष्कर्ष निकालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सोमबार साँझ करिब डेढ घन्टाको छलफल भएको छ । 

तीन शीर्ष नेताबीच प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्‍चिम प्रदेशको सरकारबारे कुराकानी भएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिँदैछन् । प्रदेश २ मा भने ओली सरकारमा सहभागी भएको जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका मन्त्रीहरुलाई मुख्यमन्त्रीले बखार्स्त गरेपछि कांग्रेससँग सत्ता साझेदारीका लागि छलफल भएको हो । 

छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपाल देउवानिवास बुढानीलकण्ठ पुगेका हुन् ।  

सोमबार दिउँसो प्रचण्डले नेपाल र देउवालाई छुट्टाछुट्टै भेटेका थिए । देउवा निवासको छलफल अघि प्रचण्ड र नेपालबीच पनि भेटवार्ता भएको थियो । दाहालसँगको भेटमा नेपालले हस्ताक्षर फिर्ता नहुने प्रतिबद्धता जनाएका छन् । फेरि नेपाल र प्रचण्डको देउवासँग दोस्रो पटक संयुक्त भेट भएको हो । आफ्नो समूहका स्थायी समितिको बैठक सकेर नेपाल बूढानिलकण्ठ पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा एकता आह्वान गर्दै ‘निर्णायक’ प्रस्ताव अघि सारेका थिए । त्यसलगत्तै प्रचण्ड सक्रिय देखिएका छन् । माधव नेपालको समूहले ओलीको आह्वानलाई खारेज गरेको छ । नेकपा एमाले अध्यक्ष ओलीले आइतबार पार्टी एकताको प्रस्तावमा नेपाल समूहका सांसदको रिटमा प्रयोग भएको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सारेपछि उत्पन्‍न आशंका मेट्न गठबन्धनका नेताहरु छलफलमा जुटेको बताइएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा नेपालसमूहका २३ सांसदको हस्ताक्षर छ । नेता नेपालले सोमबार बसेको आफ्नो समूहको स्थायी कमिटी बैठकमा हस्ताक्षर फिर्ता नहुने बताइसकेका छन् । त्यही विषयलाई आश्वस्त पार्न नेताबीच छलफल भएको हो ।

प्रकाशित मिति : जेष्ठ २४, २०७८ सोमबार  ७ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।