Logo

राजनीति

पत्रकारलाई धम्की दिने वन मन्त्री आलेलाई कारबाहीको माग



नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाले पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की आएको भन्दै भर्त्सना गरेको छ । कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक, महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा कान्तिपुर प्रतिष्ठानका सदस्य मियाँलाई निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले अन्तरवार्ताका लागि टेलिफोन कुराकानी गर्ने क्रममा सोमबार काठमाडौँमा दुर्व्यवहार र धम्क्याएको घटनाप्रति भर्त्सना गरिएको हो । 

“समाचारका कुनै पनि विषयमा चित्त नबुझेको भएमा वा कुनै गुनासो भएमा त्यसउपर कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै निर्वतमान मन्त्रीजस्तो व्यक्तिले धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो, महासङ्घ पत्रकारलाई हतोत्साहित बनाउने यस कार्यको कडा शब्दमा भर्त्सना गर्दछ”, प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रतिष्ठानले घटनामा संलग्न निवर्तमान मन्त्री आलेलाई कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षित र निर्वाधरूपमा काम गर्ने वातावरण बनाउन सरकारलगायत सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार ११:१५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।