Logo

राजनीति

मन्त्री पद गुमेपछि के टोपबहादुर फेरि माओवादीमा फर्किन लागेका हुन् ? 



सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि तत्कालीन नेकपाको ओली समूहमै रहेका पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी फेरि माओवादीमा फर्किन लागेको चर्चा चलिरहेको छ । ओली समूहका रहँदा मन्त्री पद प्राप्त गरेका टोपबहादुरलाई माओवादीले कारबाही गरेपछि उनको सांसद् पद पनि गुमेको थियो । 

सांसद् पद पनि गुमेका रायमाझी लगायतका सात जनालाई ओलीले फेरि मन्त्री बनाएपछि सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो । सर्वोच्चको आदेश अनुसार नै मन्त्री पदबाट मुक्त भएका रायमाझी ओली समूहमा सन्तुष्ट नभएको उनी निकट एक नेताले बताए । 

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष रायमाझीले ओलीले एकलौटीरुपमा पार्टी चलाउन खोजेको भन्दै पूर्वमाओवादी समूहका नेताहरु असन्तुष्ट देखिएका छन् । उनीहरुको असन्तुष्टी बढ्दै गइरहेका बेला फेरि माओवादी केन्द्रमा नै फर्किने चर्चा चलेको हो । 

यस विषयमा बुझ्दा नेता रायमाझीलेले माओवादी केन्द्रमा फर्किन लाग्‍ने भन्‍ने गलत प्रचार भइरहेको बताए । उनले भने, “माओवादी केन्द्रमा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित छन् । 

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पदलोलुपताको कारण पार्टी विघटनको दिशामा अगाडि बढेको आरोप समेत लगाएका छन् । उनले भनेका छन्,  “कुर्सी मोह , अस्थिरता, परिवारवादी एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ ।”

उनले सुशासन सहितको स्थिरतामार्फत मुलुकमा दिगो र चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि केपी शर्मा ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेको समेत जानकारी दिएका छन् । 

उनले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयु बढाउन गरिएका भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन अपिलसमेत गरेका छन् । 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १२:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।