संवैधानिक इजलाश पुनर्गठन भइसक्दा पनि दुई दिन स्थगित भएको प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ आज बुधबारबाट सुरु हुने भएको छ। आइतबारयता ‘हेर्दाहेर्दै’मा रहेको याे रिट बुधबारका लागि पूरक पेसी सूचीमा चढेको हाे।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सन्चाे नभएर दुई दिन बिदामा बसेपछि संवैधानिक इजलाश बस्न सकेकाे थिएन।
सरकाले ७ जेठ मध्यराति संसद विघटन गरेर मध्यावधि चुनावकाे घाेषणा गरेपछि विपक्षी गठबन्धनसहित सर्वाेच्च अदालत पुगेका हुन्। सबै रिट एकै ठाउँ राखेर १४ जेठबाट संवैधानिक इजलासमा सुनुवाइ हुन थाले पनि इजलास गठनका विषयमा भएको विवादले अहिलेसम्म मूल विषयमा बहस प्रवेश नै गरेको छैन।
१४ जेठमा प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसीसहितको इजलास गठन गरेका थिए ।
तर विवाद भएपछि प्रधानन्यायाधीश जबराले वरिष्ठता क्रमअनुसार इजलास गठन गरेका थिए। वरिष्ठतम् न्यायाधीश कार्कीपछि रहेकी मीरा खड्का पनि अहिले इजलासमा छिन् । उनीपछिका हरिकृष्ण कार्कीले यसअघिकै विघटनको मुद्दामा आफ्नो स्वार्थ बाझिने भन्दै बाहिरिने निर्णय गरेका थिए भने विश्वम्भरप्रसाद श्रेष्ठ अस्वस्थताका कारण बिदामा छन् । त्यसैले श्रेष्ठपछिको वरीयतामा रहेका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई इजलासमा राखिएको छ।
















प्रतिक्रिया