काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार मन्त्रिमण्डलमा नियुक्त गरेका परराष्ट्रमन्त्री रघुवीर महासेठ ६ दिनमै विवादमा तानिएका छन् । केही दिनअघि पतञ्जली योगपीठले नेपाल सरकारलाई ‘कोरोनिल किट’ प्रदान गरेको थियो । तत्कालीन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतो महासेठले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई करिब १ सय कार्टुन भारतमा प्रतिबन्धित उक्त औषधी हस्तान्तरण गरेकी थिइन् ।
रघुवीर महासेठ पतञ्जलीका व्यापारिक साझेदार हुन् । उनलाई ओलीले आफ्नो क्याबिनेटमा परराष्ट्र मन्त्रीको जिम्मेवारी दिएका छन् ।
नेपालमा उक्त औषधि ल्याएको केही दिनमै मंगलबार राति भारतीय टेलिभिजन ‘एनडिटिभी’ आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले रामदेवको ‘कोरोनोल किट’ प्रयोगमा रोक लगाएको समाचार प्रशारण गरेको छ । तर, नेपाल सरकारले पतञ्जलीको कोरोनिल किटमाथि कुनै प्रतिबन्ध लगाएको छैन ।
जेठ १७ गते मन्त्री जुली महतो महासेठले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई विवादित कोरोनिल किट दिएकी थिइन् । २१ गते उनीहरू दुवै मन्त्रीबाट बाहिरिए । त्यही दिन उनका श्रीमान सरकारमा सामेल भएर परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री बनेका थिए ।
निवर्तमानमन्त्री जुली गैरआवासीय नेपाल संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा व्यापारी उपेन्द्र महतोकी बहिनी हुन् । पतञ्जलीका उत्पादन नेपाल भित्र्याउन महतोले सुरुमा लगानी गरेका थिए । तर, दुई वर्षअघि उनी त्यहाँबाट बाहिरिए ।

















प्रतिक्रिया