गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिने भएका छन् । तर, बहुमत पुर्याउन दोस्रोपटक मन्त्री बनाइएका राजीव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री गुरुङलाई मत नदिने भएपछि सरकार ढल्ने निश्चित देखिएको हो ।
मनाङेले मुख्यमन्त्री गुरुङलाई साथ दिन नसकिने बताएका छन् । प्रदेश सभा विघटनतर्फ जान नदिनका लागि आफूले मुख्यमन्त्री गुरुङलाई साथ दिन नसक्ने उनले बताएका हुन् ।
प्रदेश सभालाई ५ वर्ष चलाउनका लागि विपक्षीलाई १ मत चाहिएको अवस्थामा आफूले १ मत दिने उनको दाबी छ । मुख्यमन्त्री गुरुङले मनाङेसँग वार्ता गर्न ३ सांसदलाई दूत बनाएर पठाएका थिए । मनाङका सांसद र राजीव पहारीलाई दूत बनाएर मुख्यमन्त्रीले पठाएका थिए । ती सांसदहरुसँगको वार्तामा मन्त्री मनाङेले विपक्षीलाई साथ दिने जवाफ दिएको स्रोतले जानकारी दिएको छ । ‘
२९ वैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले १ महिनामा विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यताका कारण बिहीबार विश्वासको मत लिन लागेका हुन् । २६ वैशाखमा राजीनामा दिएपछि संविधानको १६८ (२) अनुसार सरकार गठन हुन नसकेपछि प्रदेश प्रमुखले १६८ (३) अनुसार सरकार गठन गरेकी थिइन् । ठूलो दलको नेताको हैसियतमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा दोहोरिएका थिए ।
यता राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पनि तटस्थ बस्ने भएका छन् । उनलाई पार्टीले सांसदबाट कारबाही गरेकोमा सर्वोच्च अदालतले पद पुनर्स्थापना गरेको थियो । फेरि उनीविरुद्ध भ्याकेट निवेदन परेको छ ।
गण्डकी प्रदेशमा ६० प्रदेश सभा सदस्य छन् । जसमा विपक्षमा नेपाली कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक) र जसपाका दुई तथा राष्ट्रिय जनमोर्चाका दुई सांसद छन् । जसअनुसार मनाङेसहित विपक्षीको ३१ मत पुग्छ भने मुख्यमन्त्री गुरुङको पक्षमा २७ सांसदमात्र हुने देखिन्छ । बहुमत पुर्याउन ३१ मत चाहिन्छ ।
यसअघि विपक्षीले बहुमत पुर्याउन सभामुखको राजीनामा गराउने तयारी गरे पनि मनाङेले साथ दिने भएपछि राजीनामा नदिने भएका हुन् ।
प्रतिक्रिया