Logo

राजनीति

दीपक मनाङेको घरमा पुग्‍यो प्रहरी 



गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेको घरमा प्रहरी पुगेको छ । गण्डकी प्रदेशसभामा बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिइरहेका छन् । तर, मन्त्री मनाङे भने बिहीबार बिहानैदेखि सम्पर्कविहीन बनेका छन् । 

विपक्षी गठबन्धनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका मनाङे सम्पर्कविहीन भएपछि खोजी गर्न उनको घरमा प्रहरी पुगेको थियो । तर, उनी घरमा नभेटिएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

मुख्यमन्त्री गुरुङलाई पद जोगाउन ६० जना प्रदेशसभा सदस्यमध्ये ३१ जनाको मत आवश्यक पर्छ । गुरुङले वैशाख १६ गते आफ्नो पद जोगाउन दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए ।

त्यसको १० दिनपछि मन्त्री मुख्यमन्त्री गुरुङले राजिनामा दिएर नयाँ प्रकृयाबाट मुख्यमन्त्री भए । त्यसपछि पनि आफ्नो पदको लागि दीपक मनाङेलाई नै मन्त्री बनाएका थिए । तर, दीपक मनाङेका निकट मानिएकाहरु भने दीपकलाई एमालेको करकापले मन्त्री हुन बाध्य बनाएको बताउँदै आएका थिए ।

दोहर्‍याएर मुख्यमन्त्री बनेका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार उनले बिहीबार विश्वासको मत लिइरहेका छन् । तर, मतदानको मुखैमा दीपक मनाङे भने सम्पर्कविहीन भएका हुन् । 

फाइल तस्बिर ।

प्रकाशित मिति : जेष्ठ २७, २०७८ बिहीबार  १ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।