काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिमण्डल विस्तार गर्दै छन् । उनको मन्त्रिमण्डलमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकला थापालाई पनि समावेश गरिने भएको छ ।
उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने चर्चा छ । कुनै समय नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालका विश्वास पात्र बादल अहले केपी शर्मा ओलीका विश्वास पात्र छन् । उनी माओवादीबाट अलगिसकेका छन् ।
हालै मात्र सांसद र मन्त्री दुवै पदबाट मुक्त भएका थापाले आफू मन्त्री बन्न नपाउने भएपछि पत्नी नैनकलालाई मन्त्री बनाउन दवाव दिँदै आएको बुझिएको छ ।
नेकपा विभाजनपछि माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेपछि थापाले सांसद पद गुमाएका थिए । जेठ ६ गते भएको राष्ट्रियसभा निर्वाचनमा उनी डा। खिमलाल देवकोटासँग पराजित भए ।
सोही दिन सर्वोच्च अदालतले सांसद पद गइसकेपछि मन्त्रिपरिषद्मा नियुक्त गरिनु असंवैधानिक ठहर गर्दै नियुक्ति बदर गरिदिएको थियो । अदालतको फैसलापछि बादल सांसद र मन्त्री दुवै पदविहिन बन्न पुगेका थिए ।
तर, ओलीले नेकपा विभाजन र पहिलो पटक प्रतिनिधिसभा विघटनपछिको कठिन समयमा साथ दिएको बादलको गुन पत्नी नैनकलालाई मन्त्री नियुक्त गरेर तिरेका छन् । नैनकला यसअघि महिला आयोगकी अध्यक्षसमेत भइसकेकी छन् ।
बादलले श्रीमतीलाई मन्त्री बनाएसँगै उनको चर्को आलोचना हुन थालेको छ । सामाजिक सञ्जालमा बादलको दूरगामी चरित्र छर्लङ्ग भएको भन्दै कडा आलोचना भइरहेको हो ।















प्रतिक्रिया