Logo

राजनीति

मानव तस्करीको मुद्दा खेपिरहेका राना ओली क्याविनेटका मन्त्री



नारदमुनी राना कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन् । उनी बेला-बेला विभिन्‍न विवादमा मुछिरहेका हुन्छन् । २०६४ को पहिलो संविधानसभा सदस्य भएपछि नारदमुनि रानालाई १० लाखमा कूटनीतिक राहदानी (रातो पासपोर्ट) बेचेको आरोप लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक लाभ लिएको र रातो पासपोर्ट बेचेर मानव तस्करी गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले उनलाई सफाइ दिएपछि अख्तियारले फेरि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । उनीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा अझै पनि विचाराधीन छ । सर्वोच्चमा मुद्दा विचाराधीन रहेका रानालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आर्जु राणा देउवालाई पराजित गरेका रानालाई प्रधानमन्त्रीले मन्त्री पदमा नियुक्त गरेका हुन्  । 

प्रधानमन्त्री केपी शर्मा ओलीले १९औं पटक मन्त्रिपरिषद् विस्तार गर्दा रानालाई मन्त्री बनाएका छन् । रानालाई ओलीले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिएका हुन् । उनीविरुद्ध कूटनीतिक राहदानी रातो पासपोर्ट दुरुपयोग गरी मानव तस्करी गरेको अभियोग लागेको छ । 

उनको रातो पासपोर्टमा फोटो परिवर्तन गरी म्याग्दीका निर्मल बाँनिया ११ डिसेम्बर २०१० मा अस्ट्रेलिया उडेका थिए । आर्थिक लाभ लिएर उनले आफ्नो रातो पासपोर्टमा मानव तस्करी गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो । उनीविरुद्ध राहदानी ऐनअुनसार सरकारी वकिलले मुद्दा दायर गरेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

उनीविरुद्ध जिल्ला अदालत काठमाडौं र विशेष अदालतमा दुईवटा मुद्दा दायर भएको थियो । जिल्ला अदालतमा किर्ते र ठगीमा मुद्दा दायर भएको थियो भने विशेषमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । विशेषले सफाइ दिएपछि विशेष अदालतको फैसलाविरुद्ध सरकारी पक्षले सुरुमा पुनरावेदन दायर गरेका थिए । मुद्दा फैसलाका लागि अंग पुगिसक्दा पनि अन्तिम सुनुवाइ सुरु हुन सकेको छैन । यसअघि रानाले दुईवटा विवाह गरेको भन्दै विवादमा मुछिएका थिए । 

प्रकाशित मिति : जेष्ठ २७, २०७८ बिहीबार  ३ : ४८ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।