बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले प्रदेश सभामा विश्वासको मत लिएका थिए । जसमा उनले विश्वासको मत पाएनन् । कुल ५८ मत रहेकोमा मुख्यमन्त्री गुरुङ्गको पक्षमा २७ मत खसेको हो भने विपक्षमा ३० मत खसेको हो । उनले प्रदेश सभाबाट विश्वासको मत लिन असफल भएका छन् ।
मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि संवैधानिक व्यवस्था अनुसार स्वतः उनको सरकार ढलेको हो ।
२९ वैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले १ महिनामा विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यताका कारण बिहीबार विश्वासको मत लिएका हुन् । २६ वैशाखमा राजीनामा दिएपछि संविधानको १६८ (२) अनुसार सरकार गठन हुन नसकेपछि प्रदेश प्रमुखले १६८ (३) अनुसार सरकार गठन गरेकी थिइन् । ठूलो दलको नेताको हैसियतमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा दोहोरिएका थिए ।
गण्डकी प्रदेशमा ६० प्रदेश सभा सदस्य छन् । जसमा विपक्षमा नेपाली कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक) र जसपाका दुई तथा राष्ट्रिय जनमोर्चाका दुई सांसद रहेका छन् । बहुमत पुर्याउन ३१ मत चाहिन्थ्यो ।















प्रतिक्रिया