Logo

राजनीति

गण्डकी प्रदेशसभा बैठक बस्दै : कसरी बन्छ कांग्रेस नेतृत्वको सरकार ?



गण्डकी प्रदेश सभाको बैठक शुक्रबार बस्दै छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत नपाएपछि अब नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढाइने भएको छ । शुक्रबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सभासमक्ष प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव अस्वीकृत भएको जानकारी प्रदेश प्रमुख समक्ष गराउने कार्यसूची रहेको छ । 

गण्डकी प्रदेशमा नेकपा एमालेबाट मुख्यमन्त्री बनेका गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस नेतृत्वको सरकार बनाउने तयारी भइरहेको छ । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएसँगै कांग्रेसको नेतृत्वमा सरकार बन्‍ने बाटो खुलेको हो ।  बिहीबार पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार विश्वासको मत प्राप्त गर्न नसकेर ढलेको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत लिँदा पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो । मनाङले  मन्त्री पदबाट राजीनामा दिएर सघाउने घोषणा गरेपछि ३१ मत पुगेको छ । यससँगै गण्डकीमा विपक्षी गठबन्धनलाई बहुमत पुगेको छ । योसँगै संविधानको धारा १६८(५)  अनुसारको मुख्यमन्त्री बन्न सक्ने बाटो खुलेको हो ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका थिए भने स्वतन्त्र सांसद दीपक मनाङे बैठकमा उपस्थिति भएका थिएनन् । यसअघि थापाले विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर नगर्दा बहुमत पुग्न नसकेर संविधानको धारा १६८ को ३ अनुसार गुरुङ नै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

पार्टीको ह्वीप उल्लंघन गर्दा जनमोर्चाले कारबाही गरेपछि पदमुक्त भएका थापालाई सर्वोच्चले पुनर्बहाली गरिदिएको थियो ।  योसँगै मनाङेलाई आफ्नो पक्षमा ल्याउन विपक्षीको प्रयास सफल देखिएको छ । 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ११:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।