काठमाडौं । कोरोना महामारीको दोस्रो लहर नियन्त्रणका लागि सरकारले वैशाख १६ गतेबाट गरेको लकडाउन जेठ ३१ सम्म कायम रहनेछ । यसअघि काठमाडौं उपत्यका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ ३१ सम्म लकडानलाई निरन्तरता दिने निर्णय गरेका थिए ।
पछिल्लो समय कोरोना संक्रमणदर घट्दो क्रममा रहेको भन्दै लकडाउनलाई लुजडाउनतर्फ लैजानुपर्ने आवाजहरु उठिरहेका छन् । तर, यस विषयमा लकडाउनलाई लुजडाउनतर्फ लैजाने कि फेरि लकडाउनलाई नै एक साता निरन्तरता दिने भन्ने ठोस निर्णय भइसकेको छैन ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले अहिले विज्ञहरुसँग छलफल भइरहेको जानकारी दिएकी छन् । उनले भनिन्, “अहिले विज्ञहरुसँग छलफल चलिरहेको छ । विज्ञहरुको सुझावको आधारमा लकडाउनलाई खुकुलो पार्ने कि थप्ने भन्ने विषयमा निर्णय हुन्छ ।” उनका अनुसार आइतबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारिहरुको बैठक बस्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणदर केही घटेको भए पनि जोखिम भने कायमै रहेको जनाएको छ । उपत्यकामा पनि लकडाउन केही खुकुलो पार्ने र मापदण्डहरुको पालनामा कडाइ गर्ने तथा एक साता लकडाउन थप गर्ने विषयमा छलफल भइरहेको छ ।
कुन-कुन क्षेत्र खुकुलो पार्ने भन्ने विषयमा विज्ञहरुसँग छलफल भइरहेको छ । यसअघि उपत्यकामा एक साता खाद्यान्नका पसलहरुसमेत बन्द गराएर कोरोनाको चेनब्रेक गर्ने प्रयास गरिएको थियो । उक्त प्रयास केही हदसम्म सफल भएको प्रशासनको आँकलन रहेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच निषेधाज्ञा थप गर्नेबारे गृहकार्य भइरहेको छ । ‘‘उपत्यकाको अहिलेको परिस्थितिलाई हेर्ने हो भने निषेधाज्ञा थप गर्नुपर्ने देखिन्छ । अझै पनि कोरोना संक्रमणदर घट्नुपर्नेजति घटेको छैन । संक्रमणको उच्च जोखिम कायमै रहेको छ,” प्रजिअ पराजुलीले बाह्रखरीसँग भने ।
असारपछिको निषेधाज्ञामा मोडालिटी परिवर्तन गरी सवारी–साधनमा जोर–बिजोर लागु गरिनुपर्ने यातायात व्यवसायीहरुको माग रहेको छ ।
















प्रतिक्रिया