गण्डकी प्रदेशमा बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको लागि आह्वान गर्ने प्रदेश प्रमुखको तयारी छ । शुक्रबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको जानकारी गराइएको थियो भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएको जानकारी गराइएको थियो ।
प्रमुख प्रमुखलाई मुख्यमन्त्रीले विश्वासको मत गुमाउको औपचारिक जानकारी गराएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको आह्वानपछि विपक्षी गठबन्धनले सरकारका लागि दाबी गर्ने तयारी रहेको छ ।
ठूला दलका नेताको हैसियतमा गठन भएको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि अब संविधानको धारा १६८(५) बमोजिम नयाँ सरकार गठनको आह्वान हुनेछ । १६८(५) मा ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।
बिहीबारको प्रदेश सभामा अनुपस्थित भएका मनाङेले विपक्षी गठबन्धनलाई सहयोग गर्ने जनाएका छन् । तर, शुक्रबार सर्वोच्च अदालतले सांसद् पद पुनर्बहाली गराएका कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले फेरि कारबाही गरेको छ । पार्टीको ह्विप उल्लंघन गरेको भन्दै थापालाई कारबाही गरिएको हो ।
६० सदस्यीय प्रदेशसभामा थापालाई कारबाही गरेपछि अब प्रदेश सभामा ५९ सांसद छन् । सरकार गठनका लागि ३० सांसद आवश्यक पर्छ । अब प्रदेश सभामा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनमोर्चाका दुई, जनता समाजवादी पार्टीका दुई र एकजना स्वतन्त्र सांसद छन् ।
यसअघि विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरेर मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । बिहीबार मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावको विपक्षीमा ३० मत परेको थियो । अब मनाङेले मत नदिए पनि विपक्षी गठबन्धनको बहुमत सुनिश्चित भएको छ । अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि विपक्षीले दाबी पेश गर्ने भएको छ ।















प्रतिक्रिया