Logo

राजनीति

जसपा विवाद : महन्थ समूहले बुझाएन बहुमत हस्ताक्षर, के भन्छ निर्वाचन आयोग ?



निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा) का महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई आवश्यक डकुमेन्ट बुझाउन दिएको समय शुक्रबार सकिँदै छ । पार्टीमा अल्पमतमा रहेको ठाकुर–महतो समूहले बहुमत जुटाएर पार्टीको वैधानिकता लिन चाहेका छन् । त्यसका लागि उनीहरुले निर्वाचन आयोगमा पत्रसमेत पठाएका थिए । उक्त पत्रमा आवश्यक डकुमेन्ट र पार्टीको बहुमत केन्द्रीय समितिका सदस्यको हस्ताक्षर बुझाउनका लागि शुक्रबारसम्मका लागि समय दिएको हो ।

तर, शुक्रबार दिउँसो २ बजेसम्म ठाकुर समूहले निर्वाचन आयोगमा कुनै कागजात नबुझाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनले अनलाइनपानासँगको कुराकानीमा भने, “अहिलेसम्म कुनै कागजात बुझाउनु भएको छैन । अब आइतबार निर्वाचन आयोगले प्राप्त भएका पत्रका आधारमा निर्णय गर्छ ।” 

आयोगले दुवै पक्षलाई राजनीतिक दलसम्बन्धी ऐनको अनुसूची १८ को ढाचा विवरण र केन्द्रीय समितिको निर्णयसहितको हस्ताक्षर पेस गर्न निर्देशन दिएको थियो ।
 
उपेन्द्र यादव समूहले भने डकुमेन्ट र बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइसकेका छन् । ठाकुर समूहले बुझाएलगत्तै पार्टीको विवाद निरुपणको निर्णय गर्ने बताएको आयोगले अब आइतबार प्राप्त पत्र र डकुमेन्टका आधारमा निर्णय गर्ने भएको हो ।

ठाकुर समूहकै समर्थनका कारण सत्तामा टिकिरहेका ओलीले बहुमत पुर्‍याइदिनकै लागि प्रधानमन्त्री ओलीले उनीहरूले मागे जति नै मन्त्री दिएका छन् । प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद्मा तत्कालीन प्रतिनिधिसभामा २० सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहलाई मात्रै ११ मन्त्री दिएका छन् । 

यसअघिको मन्त्रिपरिषद् विस्तारमा नपरेपछि असन्तुष्ट रहेका पूर्वराजपाको अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव असन्तुष्ट थिए । पूर्वराजपा धार छाडेर अर्का अध्यक्ष उपेद्र यादव समूहमा जाने चर्चा चलिरहेकै बेला अध्यक्ष ठाकुरकै आग्रहमा उनलाई बिहीबार मन्त्री बनाइएको छ । 

प्रतिनिधिसभा पुन:स्थापना भएदेखि नै ओलीलाई साथ दिँदै आएको ठाकुर समूह अहिले सरकारमै सहभागी छ भने ओलीको बहिर्गमन खोज्दै आएका अर्का अध्यक्ष यादवको पक्ष विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसरतमा छ । पार्टीका नेता डम्बर खतिवडाका अनुसार ओली नेतृत्वको सरकारमा जाने थप मन्त्रीलाई केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर निष्कासन गरिनेसमेत जनाइएको छ । पार्टीमा पहिलो अध्यक्ष रहेको भन्दै ठाकुर समूहले पनि अध्यक्ष यादवलाई निष्कासन गरेको छ । पार्टीका बैठक र गतिविधि समानान्तर रूपमा चलिरहेका छन्  महतोको नेतृत्वमा पूर्वराजपा धार ओली नेतृत्वको सरकारमा सामेल भएपछि यादव पक्षले प्रदेश २ बाट पूर्वराजपा धारका मन्त्रीलाई हटाइदिएको छ । त्यहाँ यादव समहलाई कांग्रेस र माओवादी केन्द्रको साथ छ । कांग्रेस सरकारमा गइसकेको छ भने माओवादी केन्द्रले चित्तबुझ्दो मन्त्रालय पाए जाने बताएको छ ।

निर्वाचन आयोगमा अभिलेखीकृत पार्टीको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा ठाकुर समूहमा ४० प्रतिशत सदस्य छैनन् । केन्द्रीय कार्यकारिणी समितिमा तत्कालीन राजपाबाट २६ र समाजवादीबाट २५ जना सदस्य भागबन्डाका आधारमा राखिएका थिए । पूर्वराजपा धारका रेशम चौधरी जेलमा भएकाले २५/२५ सदस्य थियो ।

ओली नेतृत्वको सरकारलाई समर्थन गरेपछि ठाकुर समूहका ६ सदस्य (महेन्द्र राय यादव, मृगेन्द्र यादव, रमेश यादव, नवलकिशोर शाह, रामनरेश यादव र गजाधर यादव) कित्ता परिवर्तन गरेर यादव समूहमा पुगेका छन् । पूर्वसमाजवादी धारका दानबहादुर विश्वकर्मा ठाकुर समूहमा आएका छन् । यसअनुसार समितिमा यादव समूहमा ३० र ठाकुर समूहमा २० सदस्य छन् । पार्टीमा अल्पमतमा परेपछि ठाकुर पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक छल्दै आएको छ भने यादव पक्षले बहुमतका आधारमा निर्णय गराउँदै आएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १४:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।