काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकारका लागि दाबी गर्ने समय अहिले दिउँसो ३ बजे सकिँदै छ । विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भइ हस्ताक्षर बुझाइसेको छ । प्रदेश प्रमुखको कार्यालयले पनि छुट्टै हस्ताक्षर गराएको छ ।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेस १५, माओवादी केन्द्र ११, राष्ट्रिय जनमोर्चा (थापा बाहेक) २, जनता समाजवादीका २ सहित ३० र १ जना स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गरि ३१ जनाको गठबन्धनले प्रदेश प्रमुख समक्ष बहुमत दाबी गर्दै मुख्यमन्त्री दाबी गरेको छ ।
विपक्षी गठबन्धनलाई बहुमत पुर्याउन निर्णायक बनेका दीपक मनाङेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृहमन्त्री)मा दाबी गरेका छन् । प्रदेश प्रमुख सीता पौडेलले दिएको समय आज ३ बजे सकिएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्दैछन् ।
नेपालीलाई मुख्यमन्त्री बन्नका लागि मनाङेको समर्थन निर्णायक बनेको छ । उनले पृथ्वीसुब्बा गुरुङको सरकारमा युवा खेलकुद मन्त्रालय पाएका थिए । मन्त्री पदमा रहेकै बेला विपक्षी गठबन्धनमा लागेपछि उनलाई गुरुङले बर्खास्त गरेका थिए ।
कांग्रेस र माओवादी गठबन्धनका नेताहरुसँगको छलफलमा उनले आफूलाई गृह नभए अर्थ तथा योजना मन्त्री चाहिने दाबी गरेका हुन् । अरु मन्त्रालयमा बसेर काम गर्न नसकिने रहेछ भन्दै मनाङेले प्रहरी चलाउन गृहमन्त्री हुन चाहेको बताएका छन् ।
मनाङेमाथिको ज्यान मुद्दा सर्वोच्च अदालतमा विचारधीन रहेको छ । विपक्षी गठबन्धनले भने उनलाई अरु मन्त्रालयमा मनाउन प्रयास गरिरहेको छ ।
को को बन्दैछन् मन्त्री ?
बहुमत सदस्यको हस्ताक्षर सहितको दाबी प्रस्तुत गरेसँगै गठबन्धन मन्त्रालय भागबण्डाको तयारीमा जुटेको हो । मन्त्रालयको भागबण्डाका विषयमा कांग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ । कांग्रेसबाट मन्त्री बन्नेमा कुमार खड्का, मेखलाल श्रेष्ठ, विन्दु थापा, प्रकाशचन्द्र दवाडी, ललितकला गुरुङ, डोबाटे विश्वकर्माको नाम चर्चामा छ ।
२०७४ को आम चुनावअघि अखण्ड पार्टी कांग्रेसमा समाहित गराएका खड्का गण्डकीमा नयाँ सरकार बनाउन काँग्रेसद्वारा गठित वार्ता टोलीका संयोजक समेत हुन् । यस्तै माओवादी केन्द्रबाट रामजी बराल, दीपक कोइराला र गायत्री गुरुङको नाम चर्चामा छ ।
तत्कालीन नेकपाको एकल सरकार रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका हरि बहादुर चुमानको नाम समेत आगामी मन्त्रीका रुपमा चर्चामा छ । जसपाबाट भने हरिशरण आचार्य सरकारमा जाने पक्का छ ।
फाइल तस्बिर ।















प्रतिक्रिया