गण्डकी प्रदेश प्रमुख सिता पौडेललाई बिसञ्चो भएका समाचारहरु बाहिरिएका छन् । यस विषयमा प्रदेश प्रमुख पौडेलको स्वकीय सचिव हरिप्रसाद बास्तोलासँग बुझ्दा उनले प्रदेश प्रमुख पहिलेदेखि नै मधुमेहको बिरामी भएको र सामान्य बिसञ्चो भएको जानकारी दिए ।
उनले भने, “प्रदेश प्रमुखज्यू पहिलेदेखि नै मधुमेहको बिरामी हुनुहुन्थ्यो । स्वास्थ्य अवस्था अलि बिसञ्चो हुने गरेको थियो । म उहाँकै निवासमा छु । उहाँमाथि हुनुहुन्छ । म तल्लो तलामा छु ।”
यहीबीच गण्डकी प्रदेशसभा सदस्यबाट बर्खास्त राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले प्रदेश प्रमुख पौडेलसँग भेट गरेका छन् । थापा प्रदेश प्रमुख पौडेललाई भेट्न शनिबार उनको पोखरास्थित निवास पुगेका हुन् ।
थापाले आफ्नो कारबाहीबारे प्रदेश प्रमुखलाई जानकारी गराएको जनाएका छन् । उनीसँगै मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे पनि प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिएका हुन् । गण्डकीमा नयाँ सरकार गठनको रस्साकस्सीबीच थापा प्रदेश प्रमुखलाई भेट्न पुगेका हुन् ।
थापाले आफू राष्ट्रिय जनमोर्चाको गण्डकी संसदीय दलको नेता रहेको दाबी गर्दै आएका छन् । जनमोर्चाको सिफारिसमा गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले शुक्रबार उनी दोस्रोपटक पदमुक्त भएको जानकारी सदनलाई गराएका थिए ।
उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यसअघि पनि गएको बिहीबार थापालाई पदमुक्त गरिएको थियो । तर, त्यसविरुद्ध सर्वोच्च पुगेका थापालाई सर्वोच्चले अन्तरिम आदेशसहित आइतबार पुनर्बहाली गरेको थियो ।
बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिँदा थापा तटस्थ बसेका थिए । संसदीय दलको ह्वीप उल्लंघन गरेपछि उनी शुक्रबार फेरि पदमुक्त भएका थिए ।
गण्डकी प्रदेशमा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समय सकिएको छ । नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धले शुक्रबार नै बहुमत सांसद् हस्ताक्षरसहित दाबी गरेको छ । मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गरेका छन्।















प्रतिक्रिया