गण्डकी प्रदेशमा नयाँ सरकार गठन विवादित बनेको छ । मुख्यमन्त्रीमा बिहीबार विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङले पनि शुक्रबार अन्तिम समयमा फेरि नयाँ सरकार गठनका लागि दाबी गरेपछि विवाद उत्पन्न भएको हो । शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि २४ घण्टाको समय दिँदै आह्वान गरेपछि नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले दाबी गरेको थियो ।
नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र एक स्वतन्त्र सांसद्को समर्थनसहित कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि सशरीर र हस्ताक्षरसहित प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए । तर, शुक्रबार कामचलाउ मुख्यमन्त्री गुरुङले पनि सांसद् पदबाट बर्खास्त गरिएका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनपत्र लिएर दाबी गरेका हुन् ।
उक्त दाबीपछि प्रदेश प्रमुखले हालसम्म पनि मुख्यमन्त्री नियुक्त गरेकी छैनन् । उनले मुख्यमन्त्री नियुक्त नगरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुख कार्यालय पुगेको थियो । सुरक्षाकर्मीले उनीहरुलाई गेटभित्र प्रदेश गर्न नदिएपछि प्रदेश प्रमुख कार्यालयको गेट अगाडि धर्नामा बसेका छन् । उनीहरुले बहुमत सांसद्को हस्ताक्षर पुर्याएका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा बनाउन माग गरेका छन् ।
मुख्यमन्त्रीमा दाबी गरेका कृष्णचन्द्र नेपाली पोखरेलले कानुनी लडाइँ लड्ने बताएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफैंले तोकेको समयसीमा सकिँदा पनि मुख्यमन्त्री नियुक्त नगरेपछि नेपाली कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले कानुनी लडाइँ लड्ने बताएका हुन् ।
प्रदेश प्रमुख कार्यालयका सचिव हरिप्रसाद बास्तोलाले आफूलाई अहिलेसम्म केही जानकारी नआएको बताएका छन् । उनले अनलाइनपानासँगको कुराकानीमा भने, “म प्रदेश प्रमुखको निवासमै छु, अहिलेसम्म मलाई केही जानकारी छैन, माथि के-के भइरहेको छ, मलाई थाहा छैन ।”















प्रतिक्रिया