नेपाली कांग्रेसले गण्डकी प्रदेशमा शितलनिवासको षड्यन्त्र नदोहोर्याउन चेतावनी दिएको छ । गण्डकीमा नयाँ सरकार गठन विवादित बनेपछि कांग्रेसले यस्तो चेतावनी दिएको हो ।
मुख्य मन्त्रीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखको आह्वान बमोजिम नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले प्रदेश सभाका बहुमत सांसदको हस्ताक्षर सहित मुख्य मन्त्री पदमा दाबी पेश गरेका थिए ।
उनको पक्षमा हस्ताक्षर गरेका सांसदहरुको भौतिक उपस्थिति समेत दावीको क्रममा हिजो तथा आज फेरि पनि प्रदेश प्रमुखको कार्यालयमा उपस्थित छन् । तर मुख्यमन्त्री नियुक्तिको सहज संवैधानिक प्रक्रिया कार्यान्वयनमा ढिलाइ गरिएको स्थितिप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको का्रग्रेसका प्रवक्ता समेत रहेका प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, “दुईदिन अघि मात्रै संसदमा विश्वासको मत गुमाएका ब्यक्तिको पुनः मुख्य मन्त्रीमा दावी एकातर्फ हास्यास्पद त छ नै अर्कातर्फ यसले षड्यन्त्रको गम्भीर आशंका र आभास पनि गराएको छ ।”
शितलनिवासमाझैं षड्यन्त्रको कुनै दबाबमा नपर्न प्रदेश प्रमुखलाई अपील गर्दै बहुमत ३१ सांसदको हस्ताक्षर र उपस्थितिमा प्रस्तुत दावा बमोजिम मुख्य मन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई अविलम्ब नियुक्त गर्न नेपाली कांग्रेसले माग गरेको छ ।















प्रतिक्रिया