गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलका नेता हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको २०७४ सालमा भएको ऐतिहासिक पहिलो प्रदेशसभा निर्वाचनमा उनी गण्डकी प्रदेश नवलपरासी पूर्व १ (१) बाट निर्वाचित भएका थिए ।
प्रजातन्त्रका सेनानी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्व। गोवर्द्धन शर्माका उनी माहिला छोरा हुन् । ग्रेसको १२ औँ महाधिवेशनमा लुम्बिनी अञ्चलबाट उनी केन्द्रीय समितिमा निर्वाचित भएका थिए ।
त्यसअघि ४ पटक (२०४८ देखि २०६७ सम्म) नेपाली कांग्रेस नवलपरासीको सभापतिमा निर्वाचित भएका थिए । सभापति बन्नु अघि उनी जिल्ला कार्यसमितिको सदस्य मात्र थिए ।
चार दशकदेखि सक्रिय राजनीतिमा क्रियाशील नेपालीले प्रजातन्त्रको पुनर्स्थापना लागि भएको आन्दोलनको क्रममा पटक–पटक गरी ३ वर्षभन्दा बढी जेल जीवन बिताइसकेका छन् ।
२०२२ देखि २०२८ सालसम्म उनले पिता स्व. गोवर्द्धन शर्माका साथ भारतमा निर्वासित जीवन बिताएका थिए । राजनीतिक जीवन सँगसँगै उनले लामो समय काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कुलमा राजनीति शास्त्र, भूगोल, इतिहास पढाउँथे ।
२०३६ सालको जनमतसंग्रहमा बहुदलको प्रचारमा सक्रिय भई नेपाली कांग्रेसलाई विजयी गराएको आरोपमा मन्त्रिपरिषद्को निर्णयले उनलाई जुम्ला सरुवा गर्ने निर्णय ग¥यो । साथसाथै २०३६ साल ताका पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर उनले शिक्षण पेसा परित्याग गरे ।
नेपाल बार एसोसिएसनका सदस्य समेत रहेका उनी अधिवक्ताको रूपमा पनि परिचय बनाएका छन् । जनपक्षीय कानुनी सेवामा समर्पित उनको सिङ्गो प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरू तनहुँ र नवलपरासीबाट छुटेका थिए । राजनीतिक कारणले आफैँ शारीरिक यातनाबाट गुज्रिएका नेपाली एमनेस्टी इन्टरनेसनल, नवलपरासीको संस्थापक अध्यक्ष पनि हुन् ।
२००५ साल जेठ ५ मा तनहुँको राम्चे (हाल ब्यास–११) मा बाबु गोवर्द्धन शर्मा र आमा द्रोपदा शर्माको कोखबाट उनको जन्म भएको हो । उनका श्रीमती लता पोखरेल, २ छोरा र २ छोरी तथा नातिनातिना छन् ।
संक्षिप्त
२०२२ देखि २०२८ सम्म पिता गोवर्द्धन शर्मासँग भारतमा निर्वासित जीवन
२०२९ देखि २०३६ सम्म काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कुलहरूमा अध्यापन
२०३५ सालमा विद्यार्थी आन्दोलनमा सक्रिय नेतृत्व
२०३६ सालको जनमतसंग्रहमा सक्रिय नेतृत्व (तनहुँमा नेपाली कांग्रेस विजयी)
२०३७ निर्वाचन बहिष्कार –जेल चलान
२०४६ प्रथम जनआन्दोलन –जेल चलान
२०४८ सत्याग्रह –जेल चलान
२०४८ सालको निर्वाचनमा नेपाली कांग्रेस तर्फबाट नवलपरासी–४ मा उम्मेदवार
२०४८ देखि २०६७ सम्म सभापति, नेपाली कांग्रेस, नवलपरासी
२०६२/६३ को दोस्रो जनआन्दोलन –जेल चलान
२०६७ नेपाली कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित
२०७० सालको संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र ३ मा प्रत्यक्षतर्फका लागि नेपाली कांग्रेसका उम्मेदवार (झिनो मतान्तरले पराजित
२०७४ ( संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ऐतिहासिक पहिलो प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश नवलपरासी पूर्व १ बाट निर्वाचित
२०७५ ( गण्डकी प्रदेश नेपाली कांग्रेसको संसदीय दलका नेतामा सर्वसम्मतले निर्वाचित
२०७८ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त















प्रतिक्रिया