Logo

अन्तर्वार्ता

‘उच्च शिक्षा अध्ययनको व्यवस्था र अस्पताल निर्माण उच्च प्राथमिकतामा छन्’



पहाडी जिल्ला ताप्लेजुङको एक स्थानीय तह हो, आठराई त्रिवेणि गाउँपालिका । यस गाउँपालिकाको नेतृत्व गरिरहेका छन्, नेपाली कांग्रेसबाट विजयी भएका अध्यक्ष विश्‍वनाथ सिटौला । स्थानीय तहको नेतृत्व गरेको एक कार्यकाल पूरा हुनै लागेको छ । यस अवधिमा चुनावी अभियानका क्रममा स्थानीयहरुलाई बाँडेका कतिपय आश्वासहरु पूरा भएका छन् भने कयौं पूरा हुने क्रममा छन् । गाउँ-गाउँमा घोषणा पत्र लिएर स्वास्थ्य, शिक्षा, बाटोघाटोलगायतका विकास निर्माणहरुको काम गर्ने प्रतिबद्धता उनले गरेका थिए । विकट पहाडी जिल्ला र कोरोना महामारीको कहरका कारण जनताले अपेक्षा गरेअनुसार काम गर्न त्यति सहज भने छैन । कोरोना महामारी नियन्त्रण, विकास निर्माण र नागरिक अपेक्षालगायतका विषयमा गाउँपाकालिका अध्यक्ष विश्‍वनाथ सिटौलासँग अनलाइनपाना संवाददाता सुजाता अम्गाईले कुराकानी गरेकी छन् । उक्त कुराकानीको सम्पादित अंश :

कोरोना नियन्त्रणका लागि के-कस्ता पहलहरु गर्नुभएको छ ? 

कोरोना भाइरसको संक्रमण हुन नदिन र संक्रमणपछि आवश्यक स्वास्थ्य सामग्री, उद्धार र उपचारको व्यवस्था गरेका छौं । कोरोना संक्रमित उपचारका लागि अस्पतालसम्म पुर्‍याउन निः शुल्क एम्बुलेन्स सेवा प्रदान गरेका छौं । गाउँपालिकाको तर्फबाट कोरोना संक्रमितलाई पौष्टिक आहारको लागि रु पाँच हजार रुपैँयासमेत वितरण गरेका छौं । बेला-बेलामा आवश्यक अनुसारको स्वास्थ परीक्षणसमेत गर्ने गरेका छौं । 

कोरोनाको दोस्रो लहरपछि क्वारेन्टाइन बनाउनु भयो कि होम आइसोलेसनमा नै बस्न अनुरोध गर्नुभयो ?

हामीले  क्वारेन्टाइन पनि बनाएका छौं, जुन पाँच बेडको छ । तर संक्रमितहरुलाई होमआइसोलेसनमा नै राखेका छौं किनभने उहाँहरुको हेरविचार र खानपानमा समेत राम्रो ध्यान पुर्‍याउन होमआइसोलेसन नै उपयुक्त हुने भएको हुनाले होमआइसोलेसनमा बस्न आग्रह गरेका छौं । अहिलेसम्ममा हाम्रो गाउँपालिकामा ८५ जना कोरोना संक्रमित छन् । १४-१५ जना निको भइसककेका छन् । खुसीको कुरा के छ भने अहिलेसम्म हाम्रोमा कसैले पनि कोरोना संक्रमणबाट ज्यान गुमाउनु परेको छैन । 

विकास निर्माणको कामहरू कसरी अगाडि बढाउनु भएको छ ?

अब अहिलेको अवस्थामा सबै कामहरु रोकिएका छन् । कोरोना भाइरसले ठूला विकास निर्माणका कामहरु गर्न पाइएको छैन । साना-साना योजनाका कामहरु भइरहेको छन् । 

गाउँपालिका र स्थानीय तहबीचको सम्बन्धलाई कसरी अघि बढाइरहनु भएको छ ? नागरिकसँगको सम्बन्ध कस्तो छ ?

नागरिकलाई स्थानीय तहसम्म जोड्नका लागि वडाहरुमार्फत नै सहजीकरण गरिरहेका छौं । जुन बजेट बिनियोजन गर्छौं भनेको थियौं, त्यो गरेका छौं । काम गर्दा घुलमिल भएर गरेका छौं, विभिन्‍न ठाउँहरुको बारेमा मिलेर अनुगमन गरेका छौं । स्वास्थ्य क्षेत्र, शिक्षा, सरसफाइ, भौतिक संरचनाहरूको निर्माण, बाटोघाटो जस्ता विभिन्‍न विकासका कामहरु अगाडि बढिरहेका छन् । यसर्थ पनि हाम्रो नागरिकसँगको सम्बन्ध र सहकार्य राम्रो छ ।

तपाईंहरुले गर्नुभएको कामप्रति नागरिकहरूको प्रतिक्रिया कस्तो छ ? सन्तुष्ट छन् ?

अधिकांश मानिसहरु हाम्रो कामप्रति सन्तुष्ट नै हुनुहुन्छ । अब काम गर्दै जाने क्रममा सबैजनाको राम्रो मात्र होइन्छ भन्ने पनि त होइन् नि ! कोहि यस्ता पनि हुनुहुन्छ, जो हामीले जती नै राम्रो काम गरे पनि हाम्रो कामप्रति सन्तुष्ट नै हुनुहुन्‍न । तर, धेरैजनाले हामीले गरेको कामको प्रतिक्रिया राम्रो दिनभएको छ । खुशी लाग्छ । 

चालु आर्थिक वर्षमा कति बजेट खर्च गर्नुभयो ? 

अहिलेसम्म जम्मा ६० प्रतिशत बजेट खर्च भएको छ । अहिले कोरोनाको कारणले ठूला योजनाहरु बन्‍न सकेनन् । त्यसैले पनि धेरै खर्च भएको छैन । अब कोरोनाको कारण रोकिएका ठूला योजनाहरु गर्नपर्ने छ, सायद ९५ प्रतिशतभन्दा माथि नै खर्च हुने सम्भावना छ । 

आगामी योजनाहरू के-कस्ता छन् ?

सर्बप्रथम त पुराना रोकिएका योजना पूरा गर्ने नै प्राथमिकता हो । त्यसपछि भनेको शिक्षा, स्वास्थ्य, पूर्वधारहरु, कृषि क्षेत्र, पर्यटन, बाटोघाटो, बिजुलीलगायतका अन्य योजनाहरु छन् ।  यहाँ शिक्षा क्षेत्रमा ध्यान दिनुपर्ने जरुरी छ । किनभने यहाँ कक्षा १२ सम्म मात्र पढाइ हुन्छ । धेरैको आर्थिक स्थिति कमजोर हुने हुँदा त्यसपछिका शिक्षाको लागी वञ्‍चित हुनुपर्ने अवस्था छ । यसको लागि हामीले ध्यान दिइराखेका छौं । हेरौं के-कति गर्न सकिन्छ । 

प्रदेश र संघ सरकारले कस्तो सहयोग गरेका छन् ?

सामान्य नै छ भन्‍नुपर्छ । खासै ठूलो सहयोग पुगेको छैन् । सरकारले आफ्ना कार्यकर्ता र निर्वाचन क्षेत्र हेरेर बजेट विनियोजन गर्ने गरेका छन् । स्थानिय तहलाई सघाउनेभन्दा पनि आफनो अनुकुलता अनुसार निर्णय गर्ने गरेको देखिन्छ । 

अन्य राजनीतिक दलहरूबाट के–कस्ता सहयोग आएका छन् ?

राजनीतिक दलबाट पर्याप्तमात्रामा सहयोग आएको छ । एमाले , मावोदी लगायतका थुप्रै राजनीतिक दलहरुले सहयोग गर्नुभएको छ । कुनै योजनाको लागि सल्लाह सुझावहरु पाइराखेका छौं । अप्ठ्यारो परेको बेला सहयोग गर्नुभएको छ । कुनैपनि ठाउँको विकासको लागी गरिएका कामहरू र गर्ने कामहरू सबै जनाको सहभागितामा निर्णय लिएर काम गरेका छौँ ।

सबैकाम गरेको छु त भन्‍नुभयो ! भए पनि होलान, भौतिक पूर्वधारहरुमध्ये अहिलेको अवस्थामा के चाहीँ बन्‍नपर्ने आवश्यक देखिन्छ ?

अहिलेको अवस्थामा भौतिक पूर्वधारहरु सबैको विस्तारै विकास हुँदै छ । तर, एउटा ठूलो समस्या भनेको अस्पताल भएको छ । हुन त यो पहाडी जिल्ला त्यहिमाथि भौगलिक विकटता छ । यहाँ अहिलेसम्म न राम्रो अस्पताल बन्‍न सकेका छन् न त योग्य डाक्टर आउन सकेका छन् । दुर्गम क्षेत्र भएर पनि यहाँ आउन मान्दैनन् । सेवासुविद्या, कमाइको हिसाबले पनि यहाँ आउदैनन् । अस्पताल छन्, डाक्टर पनि छन् तर विडम्बना योग्य छैनन् ।

तपाईंको तर्फबाट अस्पताल बनाउन कस्तो पहल गर्नुभएको छ ? 

नेपाल भारत सहयोगबाट अस्पताल बनाउने तयारी गरिरहेका छौं । १० शय्याको अस्पताल निर्माणका लागि  जग्गा  अधिग्रहणको काम भइसकेको छ । डाक्टरलाई यहि राखेर पर्याप्त सेवासुविद्या दिने तयारी गरेका छौं । यति गर्न सकेमा यहाँका नागरिकलाई ठूलो सहयता हुन्छ । 

व्यक्तिगत तर्फबाट नागरिकको लागि आफैँले जनताप्रतिको कर्तव्य र दायित्व पूरा गरे जस्तो लागेको छ ?

चुनावमा भोट माग्‍न जादाँ हातमा घोषणा पत्र राखेका थियौं । उक्त घोषणापत्र भएका सबै कुरा पूरा हुन बाँकी छन् । केही हुँदैछन् भने भने केही आगामी दिनमा गर्दै जानेछौं । मैले अघि पनि भने कोरोनाको कारण केही ठूला योजनाहरु रोकिएका छन् । मैले चुनावको बेलामा खानेपानी, बिजुली, बाटोघाटो, स्वाथ्य, शिक्षा क्षेत्रमा सुधार गर्छु भनेर प्रतिबद्धता गरेको थिए । भौतिक पूर्वधारहरुको कामको गतिविधिहरू अगाडि बढाइरहेको छु । धेरै त होइन, सबै जनताको मनमा स्थानीय तहले केही गरेको छ है भन्‍ने सबैको मनमा बसेको छ । 

 

 

 

 

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आईतबार  ३ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।