राष्ट्रिय राजनीति र आफ्नै पार्टीबाट एक्लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि वामदेव गौतमको साथ खोजेका छन् । यसअघि फागुन २३ गतेको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र अलग भएपछि नेकपा एकता अभियान सञ्चालन गरेका वामदेवलाई प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीले फागुन २८ गतेको बैठकबाट उपाध्यक्ष पद खोसेका थिए । नेकपा केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिको नाम दिँदै वामदेवसहित नेताको जिम्मेवारी खासेर आफू र महासचिव ईश्वर पोखरेलको मात्रै कायम गरेका थिए ।
त्यसपछि ओलीसँग दूरी कायम गर्दै नेपाल समूहसँग नजिकिएका वामदेव स्पष्टरुपमा कुनै धारमा पनि खुलेका छैनन् । उनले नेपालको कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याएर कम्युनिस्ट आन्दोलनलाई थप बलियो बनाउने भन्दै एकता अभियान घोषणा गरेर विभिन्न गतिविधहरु गरिरहेका छन् ।
पछिल्लो समय केन्द्रदेखि प्रदेश राजनीतिमा एक्लिँदै गएका ओलीलाई फेरि वामदेवको साथ चाहिएको छ । यसअघि पटक-पटक प्रधानमन्त्री बनाउने आश्वासनमा अस्त्रको रुपमा प्रयोग गरेका ओलीले फेरि वामदेवलाई फकाउन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भैँसेपाटी पठाएका छन् ।
अर्थमन्त्री पौडेल सोमबार गौतम निवासमा पुगेर भेटवार्ता गरेका हुन् । पार्टी एकतालाई जोगाउने र समसामयिक राजनीतिक विषयमा छलफल भएको गौतमको सचिवालयले जनाएको छ । गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले ठोस विषय केही नभए पनि समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिएका छन् ।
गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै आएका छन् भने पार्टीलाई ०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने बताएका छन् । तर, प्रधानमन्त्री ओलीले भने जेठ २ नभइ जेठ ३ मा फर्काउने भन्दै यसअघि ६ बुँदे प्रस्ताव गरेमा थिए । उक्त प्रस्ताव स्वीकार्य नहुने भन्दै माधव नेपाल समूहले ६ बुँदे काउन्टर जवाफ दिएको थियो ।

















प्रतिक्रिया