काठमाडौं । नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गरेको छ ।
सोमबार गृहमन्त्री खगराज अधिकारीलाई भेट्दै विभिन्न संगठनले वैद्ययको अभिव्यक्तिप्रति फौजदारी कानुन समेत आकर्षित हुने भन्दै पक्राउ गर्न आग्रह गरेका हुन् । उक्त मागपत्रमा पूर्वमन्त्री थममाया थापाको पनि हस्ताक्षर रहेको छ ।
अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल खेलकुद महासंघ, राष्ट्रिय युवा संघ नेपाल, मुस्लिम इत्तेहाद संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, पेशागत महासंघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रतिनिधिले सोमबार गृहमन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
गत शुक्रबार वाग्मती प्रदेशसभामा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएका थिए । आफ्नो अभिव्यक्तिको विरोध भएपछि उनले प्रदेशसभामा माफीसमेत मागिसकेका छन् ।
















प्रतिक्रिया