२०७८ जेठ २९ गते पाँचजना पूर्वप्रधानमन्त्रीको क्लबले मुलुकमा लोकतन्त्र खतरामा पर्यो र विदेशी हस्तक्षेप भयो भनेर ‘मिडिया ट्रोल’ हानेछन् । यो क्लबले अहिले केपी ओलीले सत्ता मखमली रुमालले सजाएको किस्तिमा राखेर बुझाएन भनेर पोखेको कुण्ठा बाहेक केही होइन । ती कुण्ठालाइ बुँदागत चिरफार गरौं ।
१- २००७ साल साउन १६ गतेको त्रिपक्षीय दिल्ली सम्झौताबाट हाम्रा प्रधानमन्त्री क्लबका मेम्बरलाइ कुनै हस्तक्षेप हुदैन ?
२- २००७ सालकै सन्धिसँगै गरिएको ५ बुँदे गोप्य सम्झौताले उहाँहरुलाई छुँदै छुँदैन ?
३- सन १९५४ मे १ मा डिल्लिरमणले गरेको स्मृति पत्रले उहाँहरुको सार्वभौमिकतामा कुनै दखल पुग्दैन ?
४- २००९ साल माघ १ गते भारतीय डिजाइनमा बीपी कोइरालालाई गृमन्त्रीबाट हटाइ प्रधानमन्त्री हुन नदिन गरिएको गम्भीर षडयन्त्र र त्यसपछि १५ सालसम्म निर्वाचन नहुँदा कुनै हस्तक्षेप हुदैन ?
५- २०१७ साल पुस १ गते बीपीको दुई तिहाइको सरकार अपदस्त गरेर बीपीलाई वर्षौ जेल हाल्ने हिम्मत महेन्द्रको मात्रै हो भनेर कुनै हस्तक्षेप नदेख्नु, कस्ता राजनीति हो ?
६- २०४५ सालमा नाकाबन्दी लगाएर चन्द्रशेखर आएर भाषण गर्दा आन्तरिक मामिलामा बाहिरी हस्तक्षेप भयो कि भएन ?
७- दश वर्ष सम्म भारतको साँठगाँठमा बसी नेपालमा १७ हजार मान्छे मार्नु खर्बौं सम्पति लुटपाट र खर्बौ सम्पति हिनाबिना गर्नु भारतीय आडभरोषामा भएको कुनै हस्तक्षेप होइन ?
८- २०६२ मंसिर ७ गते दिल्लीमा आफ्नो मुलुकको आन्तरिक मामिलामा १२ बुँदे सम्झौता गर्दा विदेशी हस्तक्षेप निम्ताउन हात नदिएर अरु के थियो ?
९- २०७२ साल चैत १८ गते भारत र युरोपियन मिलेर वक्तव्य निकाल्दै संविधान नबनाउन धम्की दिँदा चुइक्क नबोल्ने, डरले थुर-थुर काँप्दै कहाँ लुकेका थियौं ?
१०- संविधान बनेवापत २०७२ साल असोज ६ गतेबाट भारतले नाकाबन्दी लाउँदा चुइक्क बोल्न नसक्नेले अहिले विदेशी हस्तक्षेप भन्न लाज लाग्दैन ?
११- २०७७ जेठ ७ मा हाम्रो भारतले हडपेको भूमि लिम्पियाधुरा कालापानी लिपुलेक समेतको नक्सा ६० वर्षपछि केपी ओलीले नै तिमीहरुसँग समेत लडेर जारी गर्नुपर्ने रहेछ ।
१२- अहिले केपी ओलीले पार्टी प्यालेस र सडकमा चिच्चाएर सत्ता दिएन भनेर विदेशि हस्तक्षेप भन्न अलिकति पनि लाज लाग्दैन ?
१३- यी सबै हुँदा-हुँदै त्यता आँखा चिम्लेर कि हामिलाई हस्तक्षेप गरेर सत्ता दिलाइ देऊ भनेर विदेशी हस्तक्षेप फेरि पनि निम्त्याएको हो ?
१४-कसैका रोदनले केही हुँदैन । आदरणीय कमरेड माधव नेपाल क्लबको सदस्यता र मोह त्याग्नुस् र घर फर्किनुस् । जति बस्नुहुन्छ त्यति फस्नुहुन्छ । तपाईंलाइ प्रधानमन्त्री हिजो पनि नेपाली जनताले बनाएका हुन् भोलि पनि बनाउँछन् ।
अब त्यो क्लबले लोकतन्त्र खतरामा पर्यो भन्ने कुरातर्फ जाऊँ ।
१- २०६६ साल वैशाख २० मा झलनाथको एकल सहमतिमा प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाइ प्रचण्डले सेना कब्जा गर्न खोज्दा झलनाथ लुसुक्क चाइना पुग्दा लोकतन्त्र खतरामा परेन ?
२- २०७६ वैशाख १७ मा शेर बहादुरले पहिलो महिला प्रधानन्यायाधीश शुसिला कार्कीलाई औचित्यहिन असफल महाअभियोग लाउँदा लोकतन्त्र खतरामा परेन ?
३- २०६७ वैशाख १८ मै माधव नेपाललाई प्रधानमन्त्रीबाट सत्ता च्युत गर्न र सत्ता कब्जा गर्न प्रचण्डले राजधानीमा देशभरिका मान्छे खर्च हालेर जनविद्रोह भन्दै रिङरोडमा उतारेर माधवलाई रिमोट कन्ट्रोलबाट चल्ने विष वृक्ष भनेर ताण्डव देखाउँदा लोकतन्त्र खतरामा परेन ?
४- २०६९ जेठ १४ मा बाबुरामले संविधान बनाउन नसकी भारतिय इशारामा संविधान सभा विघटन गरेर खिलराजलाई सत्ता सुम्पिँदा लोकतन्त्र खतरामा परेन ?
५ – यी सबै गलत कामविरुद्ध लड्दै आएर संविधान जारी गर्न महत्वपूर्ण भूमिका खेल्ने केपी ओलीले किस्तिमा सत्ता बुझाएन भनेर माथि उल्लेखित हर्कत गर्ने पाँच प्रधानमन्त्रीको ‘कल्बलाइ’ अहिले लोकतन्त्रको चिन्ता परेछ ।
६- माथि उल्लेखित लोकतन्त्र समाप्त पार्ने चार नम्बर सम्मका बुँदामा फ्रन्टलाइनमा लड्ने केपीबाहेक अरु कोहि थियो ? सबै माओवादीका बन्दुक र छिमेकीका डरले मुखमा पिँडालु राखेर बसेकाहरुलाई अहिले लोकतन्त्रको चिन्ता ?
७- अझै अर्को सत्य के हो भने कांग्रेसमा शुसिल कोइरालाको नेतृत्व नभएको र एमालेमा केपी ओलीको नेतृत्व हुँदैनथ्यो भने संविधाननै बन्ने थिएन ।
८- अनि माधव नेपालले २०६० जेठ १९ मा दाम चढाएर बिन्तिपत्र हाल्दा र २०६१ साल माघ १९ मा देउवाले गिरिजाले सम्झाउँदा-सम्झाउँदै प्रजातन्त्र राजालाई बुझाउँदा केचाहीँ खतरामा परेको थियो ?
९- कसैका लोकतन्त्रका परिभाषा नारायणहिटि हुँदै नागार्जुनतिर घुम्ने, कसैका लोकतन्त्रका परिभाषा सिंहदरवार तिर मात्रै घुम्ने, कसैका लोकतन्त्रका परिभाषा दिल्ली चेन्नइ-चण्ढिगढ हुँदै युरोपसम्म घुम्ने कसले बुझेको छैन र ?















प्रतिक्रिया