प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विवादित अभिव्यक्ति दिएका भन्दै वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यको आलोचना भएपछि उनले माफी माग्दै आत्मालोचना गरेका छन् । उनले आत्मालोचना गरेपछि पनि नेकपा एमालेका नेताहरुले भने उनीविरुद्ध फौजदारी अभियोगमा मुद्दा दायर गरेका छन् ।
तर, नेपालको संविधान अनुसार प्रदेश सभा सदस्यलाई पूर्ण वाक स्वतन्त्रता रहने र प्रदेश सभामा व्यक्त गरेका कुरालाई लिएर पक्राउ गर्न तथा अदालती कारबाही गर्न नपाइने प्रावधान रहेको छ । तर पनि वैद्यलाई कारबाहीको माग गर्दै आइतबार फौजदारी अभियोगमा मुद्दा दर्ता गराएका छन् । एमाले कार्यकर्ताहरुले आइतबार वैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दर्ता गराएक हुन् ।
नेकपा एमाले ओली समूहको युवासंघले हत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका हुन् । नेकपा एमालेको ओली समूहका विभिन्न संगठन तथा भातृसंगठनहरुले सोमबार गृहमन्त्री खगराज अधिकारी समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् । उनीहरूले वैद्यको अभिव्यक्तिप्रति फौजदारी कानुनसमेत आकर्षित हुने भन्दै पक्राउ गर्न आग्रह गरेका हुन् । जसमा पूर्वमन्त्री थममाया थापाको पनि हस्ताक्षर रहेको छ ।
वैद्यविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३५ को उपदफा ३ (ख) बमोजिम कारबाही माग गर्दै आइतबार जाहेरी दर्ता गराएका छन् । उक्त दफा बमोजिम कुनै व्यक्ति दोषी ठहर भएमा दफा ३५ को उपदफा ४ अनुसार ‘कुनै व्यक्तिलाई एउटा कसूर गर्न दुरुत्साहन दिएकोमा त्यस्तो व्यक्तिले त्यस्तो दुरुत्साहनको प्रभाव वा सम्भावित परिणाम स्वरुप कुनै अर्को कसूर गरेमा दुरुत्साहन दिने व्यक्तिलाई त्यस्तो कसूर पनि निज स्वयंले गरे सरह सजाय’ हुने उल्लेख गरिएको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (१) मा भनिएको छ, ‘कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन ।’
अपराध संहितामा यस्तो प्रावधान भए पनि नेपालको संविधानले भने प्रदेस सभा सदस्यलाई विशेषाधिकार उपलब्ध गराएको छ । नेपालको संविधानको धारा १८७ को १ मा भनिएको छ, “यस संविधानको अधीनमा रही प्रदेश सभामा पूर्ण वाक् स्वतन्त्रता रहनेछ र प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्न, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारबाही चलाइनै छैन ।”
अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रदेश सभा सदस्यलाई विशेषाधिकार उपलब्ध गराएका कारण कुनै अभिव्यक्ति दिएकै आधारमा मुद्दा चलाउन नपाइने बताएका छन् । उनले भने, “वैद्यको अभिव्यक्ति अनुसार प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याइ सोधपुछ र बयानसम्म लिन सक्छन् । यसमा प्रदेश सभाको विशेषाधिकारको पनि कुरा हुन्छ । राजनीतिक मुद्दा समेत भएकाले फौजदारी कसुर चलाएर जेल चलान नै गर्नेसम्म हुँदैन ।”
नेपालको ऐन कानन अनुसार उक्त प्रावधान भएसँगै वैद्यको अभिव्यक्ति कसैको ज्यान मार्ने किसिमको नभइ राजनीतिक प्रहार भएकाले फौजदारी कसुर आकर्षित नहुने अधिवक्ता न्यौपानेको भनाइ छ ।
कांग्रेसको आपत्ति
आफ्नो सांसद् नरोत्तम वैद्यले माफी माग्दा पनि राजनीतिक प्रतिशोधका आधारमा सरकारको दबाव र प्रभावका कारण हत्या दुरुत्साहनको आरोपमा जाहेरी दर्ता गरिएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाउको छ ।
कांग्रेस वाग्मती प्रदेश संसदीय दल नेता इन्द्रबहादुर बानियाँले सोमबार विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थामा देशमा व्याप्त चरम निराशा र यसबाट उत्पन्न राजनीतिक परिस्थितीको विश्लेषण गर्दै उदाहरणको क्रममा भावावेशमा आएर प्रधानमन्त्रीप्रति लक्षित गरी अभिव्यक्ति दिएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “वैद्यको अभिव्यक्ति पार्टीको आदर्श, नीति र संसदीय अभ्यास र गरिमा विपरीत भएकाले अभिव्यक्ति फिर्ता लिन लगाएका हौं । सदनको रेकर्डबाट हटाउन सभामुखलाई औपचारिक रुपमा अनुरोध गरिसकेका छौं । सोहीअनुसार रेकर्डबाट समेत हटाइसकिएको छ । यस्तो अवस्थामा राजनीतिक प्रतिशोधका आधारमा सरकारको दबाव र प्रभावमा हत्या दुरुत्साहनमा प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ ।”
प्रदेश सभाको विशेषाधिकारको हनन् गर्दै प्रदेशसभाको मानहानी गर्ने कार्य नेपालको संविधानको बर्खिलापमा रहेको र प्रहरी अनुसन्धान अधिकारीलगायत सरकारका कुनै पनि निकायलाई यसो गर्ने कानुनी अधिकार नभएको कांग्रेस संसदीय दलका नेता बानियाँको दाबी छ । उनले प्रहरीले जोहरी दर्ता गरेर संवैधानिक मूल्यमान्यता र संसदीय अभ्यासमा गम्भीर आघात पुर्याएको बताए । “संवैधानिक व्यवस्था विधिका शासन र प्रचलित कानुनविपरित गरेको यस्तो कार्यको आवश्यक परेमा प्रदेशसभामा सशक्त प्रतिवाद गर्नेछौं,” उनले भनेका छन् ।
वैधले के भनेका थिए ?
वैद्यले प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री ओलीलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री पद जोगाइराख्नका लागि मुलुकलाई नोक्सानी हुने गरी अनावश्यक सम्झौता गरेको उनको आरोप लगाएका थिए ।
उनले भनेका थिए, “ओली यसरी आइराख्या छ सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरेको छ । खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । कोही नाथुराम गोड्से आवश्यकता पर्यो अब, यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?”
प्रतिक्रिया