बन्दुक बोकाउनेहरु अरबपती खरबपती भए तर बन्दुक बोक्नेहरु अधिकांश मारिए । बचेकाहरुलाई खाडी मुलुकमा रगत पसिना बेच्न बाध्य तुल्याए । त्यस्तै विचार सिद्धान्त बोकाउनेहरु अरबपति खरबपति भए तर विचार सिद्धान्त बोक्नेहरु अहिले पनि सडकमै छन् ।
चन्द, लोहनी, राणा, लावती, बिस्ट जस्ताले त नसकेर हार खाए भने अर्को राणा, लिङ्देनले सक्लान् जस्तो मलाई लाग्दैन । किनकी आफू सहभागी भएको सरकार ढालेर अर्कोलाई सरकार बनाउन सघाउने मान्छे हुन्, त्यतिमात्र कहाँ हो र ? बाबुआमाले पनि मलाई मान्नुपर्छ भन्ने व्यक्ति हुन् ।
आफ्नो पार्टी आफूले बोकेको विचार सिद्धान्त एजेण्डालाई स्थापित गराउनपछि लागेका भए, विचार सिद्धान्त एजेण्डाप्रति प्रतिबद्ध भइ दिनरात घामपानी हुरिबतास आँधिबेरी नभनी अहोरात्र खटिने अधिकांश मानिसहरुलाई तितर-वितर पार्दैन थिए होलान् । राजा र धर्मको नाम बेचेर खानेबाहेक केही गर्न सकेनन् । आजसम्म ३०/३१ वर्षमा कतिपटक मन्त्री भए होलान् । पञ्चायत खाए, बहुदल खाए, राजाको पालामा पनि खाए, हुँदाहुँदै गणतन्त्रसम्म खान भ्याए । विश्वको उत्कृष्ट संविधान भनि गणतन्त्रको पवृतिसमेत बन्न भ्याए त्यति मात्र कहाँ हो र ? राष्ट्रपतिको प्रस्तावक-समर्थक समेत रहन भ्याए ।
३०-३१ वर्षमा न पार्टी मिलाएर संगठन विस्तार गरेर पार्टी ठूलो बनाउन सकेँ । न त पार्टी सरकारमा गएको बेला जनता कार्यकर्ताकै काम गर्न सके । चाकरी र चाप्लुसी गुलामी गरेकै भरमा आफू पनि मन्त्री बनि रहे र त्यही मानसिकता बोकेर त्यस्तै चाकरी चाप्लुसी गुलामी गर्नेहरुलाई पद बाढिरहे त्यस्ता लाई सभासद मात्र बनाएनन्, मन्त्री पनि बनाए ।
अन्त्यमा अधिकांशले धोका दिए । हुन त जस्तालाई त्यस्तै ढिडोलाई निस्तै भनेझैँ उनले विचार-सिद्धान्त एजेण्डा मन परेरपछि लागेका कार्यकर्ता र शुभचिन्तकहरुलाई धोका दिएका थिए । त्यसको बदलामा उनले बनाएको नेता-मन्त्रीले उनलाई धोका दिए । पाँच ठाँउमा उम्मेद्वारी दिने अनि दुई तिहाइ ल्याएर राजसंस्था हिन्दु अधिराज्य पुनःस्थापना गर्छौ भन्ने सायद आज आत्मग्लानी पश्चाताप भएकै होला ।
यस्ता व्यक्तिसँग सिंगौरी खेलेर कतै दोश्रो पुस्ताका नेताले समय बर्बाद त गर्दै छैनन् ! हिजो त चतुर खेलाडी भनिने एक्लै थिए । अहिले धुर्त खेलाडीहरु पनि उनका साथमा छन् । यिनिहरुले आँप मात्र खाँदैनन्, बोट नै खान्छन् । त्यसैले बेलैमा सजक-सतर्क भएर आफूहरुलाई साथ दिने नेता कार्यकर्ता शुभचिन्तक जनताको भावनालाई कदर गर्दै सबैलाई समेटेर अघि बढ्नु वेश होला जस्तो लाग्छ । यो बेला बरु एक कदम पछि हटेर भए पनि सबैलाई समेटेर सडकमा जानु उचित हुन्छ । फेरि त्यसै पनि आम जनतामा पार्टीप्रति बितृष्णा छाएको छ ।
यो बेला पार्टीको झण्डा बिसाएर केबल देशको झण्डा बोकेर अघि बढ्दा उचित हुन्छ । यो बेला केही गर्न सकिएन भने अहिलेसम्म गरेको मेहनत परिश्रम समय लगानी त खेर जान्छ नै । न नेपाल रहन्छ, न त नेपाली नै भन्न पाउनेछौं । भावी पुस्ताले धिकार्नेछन्, समय मै सोचौं ।















प्रतिक्रिया